टीकापुर, जेठ १३
कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट र देवराज जोशीसहितका सात जना उपर भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत विष्ट, जोशी, तथा इन्जिनियर, सव-इन्जिनियरसमेत सात जनाविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले अधिकृत विष्ट र जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाई हानी नोक्सानीमा संलग्न रहेको आरोपमा मुद्दा दायर गरेको हो ।
इन्जिनियर र सबइन्जिनियरले गुणस्तरहीन कार्य गराई, नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्याङ्कन गरेको, साथै निर्माण व्यवसायीले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिई नेपाल सरकारलाई हानी नोक्सानी पुर्याई भ्रष्टाचार गरेको जनाएको छ ।
विभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरुमा भुक्तान भएको परिमाणको स्थलगत निरीक्षणमा स्थानीय जनप्रतिनिधि, सम्बन्धित निर्माण व्यवसायी र ठेक्का कार्यान्वयन गराउने नगरपालिकाका प्राविधिकहरुको उपस्थितिमा गुणस्तर परीक्षण नतिजा बाहेक खुद नापजाँचबाट निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण कार्य गराएको अख्तियारको ठहर छ ।
अख्तियारले देहाय बमोजिमको कसुरमा सजायको मागदाबी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को दफा ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।



