Hamro Patra
सुदूरपश्चिम विश्वविद्यालयले चिकित्सा संकाय सुरु गर्छ: प्रधानमन्त्री देउवा

महेन्द्रनगर, असार ३

सुदूरपश्चिम विश्वविद्यालयले यसै वर्षदेखि चिकित्सा संकायको अध्यापन शुरु गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले दोश्रो दीक्षान्त समारोहमा बोल्दै सो कुरा बताएका हुन् ।

‘यसै वर्षदेखि विश्वविद्यालयले चिकित्सा संकायको सुरुवात गर्ने गरी डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन तथा गुरुयोजना निर्माणको कार्य अगाडि बढाउँदैछ’ प्रधानमन्त्री देउवाले भने, ‘नेपाल सरकारले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेट पनि विनियोजन गरेको छ ।’

विश्वविद्यालयले सुदूरपश्चिमका निम्न र मध्य आय भएका विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गरेको बताउँदै देउवाले गुणस्तरीय जनशक्ति उत्पादनमा पनि महत्वपूणर् भूमिका निर्वाह गरेको बताए ।

‘विश्वविद्यालय समय अनुसार शैक्षिक र व्यवस्थापकीय सुधार हुन आवश्यक छ,’ उनले भने, ‘आउदा केही वर्षमा मुलुककै उत्कृष्ट संस्था बन्नेमा आशावादी छु ।’ समारोहमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।

यस्तै ‘ग्रेस लिस्ट’मा रहेका एक हजार ५ शय ५८ विद्यार्थी पनि दीक्षित भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update