
टीकापुर, मंसिर २०
अतिक्रमित जग्गा खाली गर्ने ३५ दिने सार्वजनिक सूचना कटेको १९ दिनपछि टीकापुर नगरपालिकाले सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियान थालेको छ ।
नगरपालिकाले वडा नं. ४ मौरनियाँबाट अतिक्रमण हटाउने अभियान शुरु गरेको हो । असोज २६ एक सूचना प्रकाशित गर्दै नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अतिक्रमण सार्वजनिक जग्गा, खुल्ला क्षेत्र, चोक, चौराहा, प्रति ऐलानी जग्गा तथा तालतलैया खाली गर्न भनेको थियो ।
सूचना प्रकाशित भएको मितिले ३५ दिन मंसिर १ गते पुगेको थियो । ३५ दिन कटिसक्दा समेत अतिक्रमित जग्गा खाली गराउनेतर्फ चासो नदिएको भन्दै नगरपालिकाप्रति स्थानीयस्तरमा टिकाटिप्पणी शुरु भएको थियो ।
अभियानको पहिलो दिन नगरपालिकाले वडा नं. ४ को मौरनियाँमा पदमबहादुर कठायतको माटोको चिनाई रहेको एक टहरा र नरेन्द्र बोहराको झण्डै ५ मिटर टिनको बार मात्रै हटाएको छ ।
अतिक्रमित जग्गा खाली गर्ने अभियान शुरुवात भएको उद्घोष गरेका नगर प्रमुख रामलाल डगौरा थारु पहिलो दिन सुरक्षाकर्मी सहित दलबल बोकेर पुगे पनि एक कच्ची घर र ५ मिटर बार भत्काएर फर्किएका छन् ।
नगर प्रमुख थारुको पहिलो दिनको कामलाई हेरेर स्थानीयहरु भने ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ खेल मात्रै भएको टिप्पणी गर्न थालेका छन् ।
श्रोतका अनुसार विहान ११ बजेबाट शुरु भएको जग्गा खाली गराउने अभियान एक घण्टामै सकिएको थियो ।
नगरपालिकाले एक घर र केही बार भत्काएर नाटक मञ्चन गर्न खोजेको एक प्रत्यक्षदर्शीले बताए । ‘वडा नं. ४ मै तमाम ठाउँमा अतिक्रमण छ, जमरा ढिकको टोलमा त्यस्तै छ’ उनले भने ‘मौरनियाँमै समेत त्यस्ता अरु घरहरु छन्, तर एउटामा नगरको डोजर चल्यो, यसबाटै थाह हुन्छ, यो नाटक मात्रै हो ।’
नगर प्रमुख थारुले भने आजदेखि अतिक्रमण खाली गर्ने अभियान शुरुवात भएको बताए । ‘आजदेखि शुरु गरेका छौं, जहाँ जहाँ जग्गा अतिक्रमणमा परेका छन्, त्यहाँको जग्गा खाली गराउँछौं’ नगर प्रमुख थारुले भने ‘भोलि वनगाउँको मगर टोलको झण्डै ढेड विघा जग्गा खाली गर्दैछौं ।’
नगरपालिकाले वडा नं. १ देखि ९ सम्म अतिक्रमित जग्गाको क्रमशः तथ्यांक लिने, नापजाँच गर्ने र अतिक्रमण खाली गराउने नगर प्रमुख थारुले बताए । ‘वडा नं. २ र ४ मा पर्ने ऐतिहासिक अस्नेहरी तालमा भएको अतिक्रमण समेत हामी हटाउँछौं’ नगर प्रमुख थारुले भने ‘तालका बारेमा हामी तथ्यांक संकलन गरिरहेका छौं ।’
नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्ने सूचना प्रकाशित गरेपछि आफ्नो अतिक्रमित भएको झण्डै ३ शय विघा जमिन खाली गरिदिन टीकापुर बहुमुखी क्याम्पसले नगरपालिकालाई पत्राचार गरेको थियो । क्याम्पसको जग्गा सुकुम्बासीका नाममा अतिक्रमित छ ।
नगर प्रमुख थारुले सुकुम्बासी लगायतका शिविरहरुको जग्गा भने खाली गर्न नसकिने बताए । ‘उनीहरु १५/२० वर्षदेखि बसिरहेका छन्’ उनले भने ‘भूमि आयोगले समेत सूचना निकालेपछि हामी त्यसमा केही गर्न सक्दैनौं ।’
भूमि आयोगले एक सूचना प्रकाशित गर्दै तत्काल सुकुम्बासी, भूमिहीनहरुको बस्तीबारे केही नगर्न भनेको छ ।