Hamro Patra
फोहोरबाट मोहर कमाउँदै टीकापुर अस्पताल

टीकापुर, पौष १७

कैलालीको टीकापुर अस्पतालले अस्पतालजन्य फोहोरबाट मोहर कमाउन थालेको छ । अस्पतालमा जम्मा हुने अस्पतालजन्य फोहोरहरु स्लाइन, सिरिञ्ज, औषधीका बट्टा, बोतल, कार्टुन आदि बिक्री गरेर अस्पतालले आम्दानी लिन थालेको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीका अनुसार अस्पतालले संकलित फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गर्छ । कुहिनेलाई फोहोरलाई सुरक्षित गाड्ने र नकुहिने फोहोरलाई पुनः वर्गीकरण गरी अटोक्लेभ मेसिनबाट निर्मलीकरण गरेर बिक्री गर्ने गर्छ ।

‘दुई महिनादेखि हामीले अटोक्लेभ मेसिन जडान गरेर फोहोरको वर्गीकरण गर्ने, निर्मलीकरण गरेर जम्मा गरेका छौं’ अध्यक्ष सोडारीले भने ‘दुई महिनामा १३ क्वीन्टल फोहोर संकलन गरेर बिक्री गरेका छौं, जसबाट अस्पताललाई २८ हजार रुपैयाँ आम्दानी भएको छ ।’

फोहोर निर्मलीकरण गर्नका लागि गैरसरकारी संस्था कोइकाले झण्डै आठ वर्षअघि एउटा १ शय ५२ लिटर क्षमताको अटोक्लेभ मेसिन अस्पताललाई दिएको थियो । विश्व स्वास्थ्य संगठनबाट थप अर्को २ शय लिटर क्षमताको अटोक्लेभ मेसिन ल्याएर फोहोरबाट मोहर बनाउन थालिएको अध्यक्ष सोडारीले बताए ।

‘आम्दानी धेरै नहोला तर अस्पतालमा जम्मा हुने फोहोर व्यवस्थापन र वातावरणीय दृष्टिकोणले फोहोरको पुनः प्रयोग हुनु महत्वपूणर् विषय हो’ अध्यक्ष सोडारीले भने ‘हामी अन्य अस्पताल र नगरपालिका क्षेत्रमा संकलित फोहोरबाट मोहर बनाउने योजनामा छौं ।’

अस्पतालले संकलित फोहोर बिक्रीका लागि जोशीपुरस्थित जय सियाराम होजियारीसँग सम्झौता गरेको छ । सम्झौता अनुसार होजियारीले प्लास्टिक १५, कागज २०, ग्लोब १० र सिरिञ्ज १५ रुपैयाँ प्रतिकिलोका दरले खरिद गर्ने गरेको छ ।

अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि यसअघि पोखरास्थित क्षेत्रीय अस्पतालले अटोक्लेभ मेसिन सञ्चालन गरी फोहोरबाट मोहर कमाउन शुरु गरेको थियो ।

‘हामीले पोखराको अस्पताल हेरिसकेपछि टीकापुरमा यो अभियान सञ्चालन गरेका हौं’ अध्यक्ष सोडारीले भने ‘अब हामी अन्य अस्पतालहरु र नगरपालिकासँग सामान्य व्यवस्थापकीय शुल्कहरु लिएर यसलाई बढाउने योजनामा छौं ।’

अस्पतालले आवश्यक तालिम दिएर दुई जना कर्मचारी खटाई फोहोरको निर्मलीकरण गरिरहेको छ । संकलित फोहोरको परिमाण बढ्दै गए कर्मचारी थप गर्न सकिने अस्पतालले जनाएको छ । अटोक्लेभ मेसिन सञ्चालन हुनु अघि अस्पताललाई फोहोर व्यवस्थापनको चुनौती रहेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update