
परमानन्द पाण्डे
टीकापुर, फागुन २५
टीकापुर नगरपालिका वडा नं. १ को नमूना ब्लक निर्माण कार्य अन्तर्गत मुख्य सडक धमाधम कालोपत्रे भइरहेको छ । निर्माण कम्पनी महालक्ष्मी एम.के.जेभीले अस्पताल लाइनको दुबै साइटबाट शुरु गरेर खानेपानी सडकतर्फ कालोपत्रे गरिरहेको हो ।
तीनवर्ष अघि शुरु भएको निर्माण कार्य झण्डै ६ महिनादेखि ठप्प भएको थियो । काम ठप्प गरेर निर्माण कम्पनी गुमनाम भएपछि हाम्रोपत्रले लगातार समाचार प्रकाशित गरेको थियो । निर्माण कम्पनीका प्राविधिक जयराम थापाले गर्मीयाम शुरु भएसँगै सडक कालोपत्रे गर्ने र बाँकी रहेका फुटकर कामहरु धमाधम शुरु गरिएको बताए ।
‘गर्मीयाम शुरु भएपछि हामीले केही दिनदेखि अस्पताल लाइनबाट कालोपत्रेको काम शुरु गरिसकेका छौं’ थापाले भने ‘हामीले गर्नुपर्ने अन्य फुटकर कामहरु जस्तै अधुरा नाला बनाउने, कल्भर्ट हाल्ने जस्ता कामहरु समेत हामीले शुरु गरिसकेका छौं ।’
डेढ वर्षभित्रै सम्पन्न गर्ने गरी तीन वर्ष अघि निर्माण कार्य शुरु गरेको निर्माण कम्पनीले कालोपत्रे गर्ने कार्य शुरु गरेपछि स्थानीयहरु आशावादी बनेका छन् ।
‘निर्माण कार्य छोडेर ठप्पै जस्तो भएको थियो, अहिले आएर कालोपत्रे गर्ने कार्य भइरहेको छ’ स्थानीय गंगाराम चपाईले भने ‘यही रफ्तारमा काम भएको खण्डमा असारसम्ममा नमूना ब्लकको काम सकिन्छ ।’
सडक निर्माण कार्य शुरु भएसँगै शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढीको प्राविधिक टोलीले समेत अनुगमन गरिरहेको छ ।
नमूना ब्लक अन्तर्गत मुख्यबजार क्षेत्रको झण्डै ३ किलोमिटर सडक कालोपत्रे र नाली निर्माण भइरहेको छ । नमूना ब्लक अन्र्तगत ब्लक ए को तीनतिरको मुख्य सडक र केही भित्री सडकहरु समेत कालोपत्रे हुनेछन ।