Hamro Patra
देउवा निवास अगाडि बम राखेको आरोपमा युवक पक्राउ

टीकापुर मंसिर १५
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि बम राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । 

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको धनगढी उपमहानगरपालिका वडा नं. ४ बसपार्क नजिकैको घर अगाडि बम राखेको आरोपमा गौरीगंगा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले धामीलाई पक्राउ गरिएको पुष्टि गरे ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका नेकपा (बहुमत) का एक नेताले देउवाको निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि पक्राउ गरिएको हो । गत भदौमा देउवाको निवास अगाडि अज्ञात समूहले विस्फोटक वस्तु राखेको थियो ।

उक्त विस्फोटक वस्तु बम भएको पाइएपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो । प्रहरीले यसअघि बम राखेको आरोपमा नेकपा बहुमतका चार जनालाई पक्राउ गरेर समेत अनुन्धान गरेको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update