Hamro Patra
बाणुल्ली

अछाम, बैशाख २०
हरेक मानिसले आफ्ना आफन्त शुभेच्छुक, शुभचिन्तक, सहयोगी सबैलाई केही न केही पलमा सम्झिने गरिरहेका हुन्छन् । मानिसले हरेक शुभ अशुभ काममा सम्झिँदा आफ्ना टाढा रहेका आफन्तहरुलाई खुक्क खुक्क घाँटीमा बाणुल्की लाग्ने गर्दछ । गाउँमा अहिले पनि बुढापाका, महिला दिदीबहिनीहरु, युवायुवतीहरु आफुलाई खुक्क बाणुल्की लाग्दा आफ्ना आफन्त घर परिवारका सदस्यहरुले आफुलाई सम्झना गरेको सम्झना गर्दछन् । घर, परिवार, आफन्त कसले आज सम्झना गरेको होला किन होला ? केका लागि    होला ? केही समस्या भएर होला कि भन्ने प्रश्न मनमा खेलिरहन्छ । बाणुल्ली दोहोरोपनमा चलिरहेको हुन्छ । बाणुल्लीले मलाई त भुल्नै नसकिने गुन लगाएको छ । आज वाणुल्ली गाउँमा होला कि शहरमा, स्वदेशमा होला कि विदेशमा तर मलाई बाणुल्लीले पनि भुलेको छैन होला भन्ने पूर्ण विश्वास मैले लिएको छु । 

गाउँबस्तीका वास्तविक कुरा गर्ने हाम्रो चालचलन, रीतिरिवाज चाडपर्व, संस्कार संस्कृति र मेलापात उकाली ओराली, वनपाखा, खेतबारी, गोठालो होस् वा आफ्नो जीवनका लागि उपयोगी ज्ञान गुन र सुखदुःख, जीवन भोगाईका कुरा सुनाउन तपाईकै घर घर हात हातमा हुने रेडियोको माध्यामबाट आउने गरेको थियो है । गाँउ समाजका हाम्रा अग्रज अभिभावक साथीभाई, दिदीबहिनी, दाजुभाई, आफन्त इष्टमित्रसँगको हाम्रो अपनत्व सामाजिक र व्यावहारिक, व्यावसायिक कुरा मात्र कहाँ हो र है ?

हाम्रो समाजमा रहेका कु–संस्कार, संस्कृति, परम्परा हटाउनका लागि हामीले गर्ने कर्मका बारे बोलेर सुनाइएको कुरा मजाले कानमा रेडियो लगाएर ठूलो भोलुममा घर होस् वा खेतबारीको आली या त वनपाखा हिँडिरहँदा होस् या आफुले व्यापार गर्ने पसलमा सुनिरहनु हुन्थ्यो । म रेडियोको माध्यमबाट आवाज बनेर तपाईको घरमै आउँथे है । तपाईहरुलाई हरेक दिन म बिहान नौ बजेर पन्ध्र मिनेटमा आवाजमा भेट्न पुग्ने गर्दथे तर म एक्लै होइन तपाईले मलाई सम्बोधन गरेर प्रत्यक्ष भेट हुने अपेक्षा सहित लेखेर पठाउनु भएको लिखत पत्रको साथमा समय नबिराई, तपाईहरु हुन त पहिलेदेखि नै कतिबेला आउँछ भनेर कुरी बसिरहनु भएको हुनुहुन्थ्यो होला । 

तपाईले लेखेको पत्रमा हाम्रो समाजका गतिविधि मनका भावना, जीवन भोगाईका पिडा, गरिबी, बेरोजगारी, पूराना केही कु–संस्कारले समाज र स्वयम्लाई पु¥याएको असरका बारेमा गितका माध्यमबाट व्यक्त गर्नु भएको हुन्थ्यो । साविकको सेरा गाविस हालको कमलबजार नगरपालिका कवाल्लेखका बुदे उखेडाले पत्रमा लेख्नु भएको थियो । 
          कैलेसम्म सुक्ने हुन्ना छुवाछुतका जणा । 
          कानून लेख्ने वकिल साब सबै कानुन पणा ।।
ब्यानदिल दमायाँ बज्दा बजगाउँ हुनकि सेरा । 
कति वर्ष बाँकि हुन्ना दुःख खाना मेरा ।। 
          केदार मेला जामा जात्रु राम हेर्न आई जाया । 
          जनक दाजु भेटिकन बाणुल्ली लाई जाया ।। 

उहाँले लेख्नु भएको गितको भाव जातीय विभेदले समाजमा पारेको प्रभाव र कानून लेख्ने र वकालत गर्ने वकिललाई कानुन सबैलाई सिकाई दिन भने पहिलो गितमा छ । अनि दोश्रो गितमा हाम्रो संस्कारमा हुने केदार मेलाजामाको जात्रा हेर्न आउन निमन्त्रणा गर्दै मसँग भेट्ने धोका साटेका हुन । बाणुल्ली समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने समाज परिर्वतन समबाहक थियो । समाजमा जरा गाडेर बसेको छाउपडी कुप्रथाको, न्यूनिकरण, पूर्ण खोपयुक्त वडा र गाउँ, नगरपालिका र जिल्ला बनाउन, खुल्ला दिशामुक्त क्षेत्र घोषणा, साक्षरता घोषणा, जातीय विभेद अन्त्य, बालविवाह अन्त्य, बालश्रम अन्त्य, लैङ्गिक समानता र समावेशीता, समातामुलक सुशासन प्रवद्र्धन गर्दै आर्दश समाज निर्माणमा आवाज उठाउने गर्दथ्यो । 

अछामको पहिलो सामुदायिक रेडियो रामारोशन एफ.एम.बाट मेरो आवाजमा प्रसारण हुने गाउँबस्तीको आवाज बोल्ने कार्यक्रम थियो बाणुल्ली । कुरा २०६४ र ०६५ सालतिर को हो, रेडियो सञ्चालनको केही समयमै प्रसारणमा आएको बाणुल्ली स्थानीय अछामी भाषामा हुन्थ्यो । सबैले अनिवार्य जस्तै सुन्ने कार्यक्रममा स्थानीयबासी लगायत कैलाली, डोटी, बाजुरा, डडेल्धुरा, बझाङ, दैलेख, कालिकोट, बर्दिया र सुर्खेत जिल्लाका धेरै जस्तो ठाँउमा राम्रो पहुँच थियो । तिनै ठाउँका स्रोताहरुले हस्तलिखित आफुले भोगेका, समाजमा रहेका संस्कार, परम्परा, ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं सामाजिक पर्व, वनपाखा, भेषभुषा, रहनसहन, समाजले भोगेका समस्या, लेकअवल लगायतलाई समेटेर देउडा गित लेखेर पठाउँथे । यति मात्र होइन भारतबाट र केहीले विदेशबाट समेत हुलाकमार्फत् पत्राचार गरी घर परिवारलाई आफ्नो खबर र पिडा सुनाउने गर्थे । 
भारतबाट लेखेका थिए एक मित्रले आफ्नो श्रीमतीलाई गित
             छोराछोरी पालिराखे सिस्नामा नुन हाली 
             म आउँला चैतका मैना एक कोल्टे बाल फाली

श्रीमानले प्रदेशबाट श्रीमतीलाई छोराछोरीलाई सिस्नोमा नुन हालेर भए पनि राम्रोसँग पालनपोषण गर्नु मेरो चिन्ता नलिनु म चैत्रको महिना घर आउन लागेको गित पत्रमार्फत् रेडियोको माध्यमबाट घरमा जानकारी दिन्छन् । पत्र गीत मात्र होइन स्थानीय अछामी भाषाको प्रवद्र्धक पनि बाणुल्ली थियो । गाउँका सबैजसो मानिसहरू जाने पनि नजाने पनि बजार जाँदा पढेलेखेका मानिस अपरिचित मानिस, गाउँमा आउने विभिन्न क्षेत्रका मानिस वा पाउना या आफन्त आउँदा नेपाली बोल्ने गर्नुहुन्थ्यो । गाउँ वा जिल्लाका बजार हुन या त सरकारी, गैरसरकारी कार्यालय या त विद्यालय विभिन्न क्षेत्रबाट आयोजना हुने सार्वजनिक कार्यक्रमको आयोजना गर्दै गर्दा स्थानीय भाषा अछामीमा कोही पनि बोलचाल गर्न हिच्किचाउने हुन्थ्यो । अछामी शब्द आयो भने पनि असजिलो मान्ने स्वभाव थियो । जब बाणुली प्रसारण शुरु भयो अनि हाम्रो भाषा अछामीले धेरै माया र स्थान पाउन थाल्यो । 

गाउँका सार्वजनिक सरकारी कार्यालयहरुले सञ्चालन गर्ने कार्यक्रम अछामी गजल, सडक नाटक रेडियोमा सूचना प्रसारण कार्यक्रममा आफ्नो भनाई राख्ने वक्ताहरुले हाम्रो अछामी भाषाको प्रयोग गर्न थाले । अछामी भाषा विस्तारै विस्तारै रेडियोबाट टेलिभिजनदेखि फिल्मसम्म पुग्यो, नेपाल सरकाले तथ्याङ्क संकलन गर्ने बेलामा पनि अछामी भाषा पनि त्यसमा राखिदियो । अहिले पत्रपत्रिकाको प्रकाशनमा पनि अछामी भाषा प्रयोगमा आएको छ । बाणुल्ली बधाई छ तिमीलाई तिमीले चालेको कदमले सार्थकता पाउँदै छ । अछामी भाषा प्रायःजसो सुदूरपश्चिम र कर्णाली प्रदेशका सबैले बुझ्ने सजिलो भाषा हो र अहिले धेरैजसो हाम्रो जिल्लामा बोलिन्छ । अछाम, बाजुरा, दैलेख, कैलाली, कालिकोट, सुर्खेत, डोटी, बर्दिया लगायतका अन्य ठाउँमा समेत अछामी भाषा बोल्ने गरिन्छ । हाम्रो सुदूरपश्चिम र कर्णाली भाषाको जननी हो । बाणुल्ली भाषा प्रवद्र्धक मात्र कहाँ हो र ? क्षमता विकास र स्वरोजगार बनाउन र शैक्षिक ज्ञानका लागि समेत परामर्शदाता सहयोगी भूमिका निर्वाह गर्ने एक सहयात्री समेत रहेछ ।

बाणुल्ली समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने समाज परिर्वतन समबाहक थियो । समाजमा जरा गाडेर बसेको छाउपडी कुप्रथाको, न्यूनिकरण, पूर्ण खोपयुक्त वडा र गाउँ, नगरपालिका र जिल्ला बनाउन, खुल्ला दिशामुक्त क्षेत्र घोषणा, साक्षरता घोषणा, जातीय विभेद अन्त्य, बालविवाह अन्त्य, बालश्रम अन्त्य, लैङ्गिक समानता र समावेशीता, समातामुलक सुशासन प्रवद्र्धन गर्दै आर्दश समाज निर्माणमा आवाज उठाउने गर्दथ्यो । 

बाणुल्लीमा पत्र गित लेखेर पठाउने त्यो बेला विद्यालयमा अध्ययन गरिरहेका कार्यक्रमका श्रोता समेत धेरै पत्रकार भए, कोही रेडियोको मालिक, कोही निजामती कर्मचारी, कोही गैरसरकारी संस्थाको प्रमुख, कोही कम्प्युटर अपरेटर, कोही जंगीतिर प्रहरी, सेना, कोही सशस्त्र प्रहरी, केही नेता त जनप्रतिनिधि, कोही व्यापारी त कोही साहित्यकार, कोही शिक्षक भए कोही निर्माण व्यावसायी, कोही स्वास्थ्यकर्मी त कलाकार धन्य छ बाणुल्ली तिम्रो  आवाजको शिक्षा सन्देश तिमी धन्य छौ । म तिमिलाई लिएर गाउँ गाउँ गइरहेका  बेला भेट्ने र हेर्नेको लाइन हुन्थ्यो । केही सार्वजनिक कार्यक्रममा सहभागी हुँदा देउडा गाउनै पर्ने, अछामी भाषा बोल्दै गर्दा खुशी हुने सबै उमेर समूहका दाजुभाई दिदीबहिनीहरुको ठूलो घुँइचो हुन्थ्यो । जता बाणुल्ली र म जान्थ्यौँ उतै उतै पछाडि पछाडि बालवालिका, केटाकेटी, युवायुवतीहरुको लर्को लाग्ने हुन्थ्यो अनि म अछामी भाषामा निकाई छव भनेर सोध्ने गरेको हुन्थें । कतिले प्रश्न गर्दथे मेरो पत्र कहिले आउँछ बाणुल्लीमा ? अनि म भन्थे पालैपालो आउँछ हजुर । 

बाणुल्लीको बासस्थान रेडियो रामारोशन हरिनगर ठूलासैनमा भेट्न आउनेको पनि कहाँ कमी थियो र ? एक त आफ्नै ठाउँमा रेडियो बजेको हुनाले कसरी बोल्छ रेडियो भनेर हेर्ने, नयाँ अनुभव गर्न सकिन्छ भन्ने कुरा थाहा पाउन र आफ्नै आवाजमा गित गाउन हुलका हुल मानिसहरु आफ्नो प्रतिभा प्रस्तुत गरेर जान्थे भने कति रेकर्ड गराएर कति त पालो कुरेर अर्को दिन पनि आउँथे है । अनि सोध्ने गर्दथे बाणुल्ली जनक भण्डारी को हुन् ? कहाँ छन् ? खेम ढकाल प्राविधिक को हुन भनेर ? चन्द्र थापा कहाँ छन ? बेदप्रकाश तिमिल्सैना र विनोद थापा हामीलाई चिनाई दिनुपर्छ भन्ने गर्दथे । भेट्न आउँदा हिँउदमा आफ्नो बारीमा फलेको गहुँको उमा, काफल, ऐंसेलु र बर्खातिर धानको सिरौला अनि पोलेको मकै र मकैको चिउरा पोको पारेर ल्याउथे । अनि हामी भन्थ्यौ तपाईहरुले किन ल्याउनु भयो भनेर होइन तपाईहरु र बाणुल्लीको मायाले हो । यति मायाँ स्नेह पाउने बाणुल्ली आजकाल एक्लो भएको होला कि नहोला ? के गर्दै होला भन्ने अनुमान गर्न सकिन्छ है तर सबैले भुलेका पनि त नहोलान् आफ्नो मौलिक मनोवैज्ञानिक साहित्यिक देउडा पत्र कार्यक्रम बाणुल्ली । आफ्नो भाषाको प्रवद्र्धक तिमीलाई कसैले सम्मान स्वागत नगरे पनि तिम्रो लक्ष्य उद्देश्य पूरा हुनेछ बाणुल्ली । तिमी सधैं आफ्नो लयमा रहनु तर म तिम्रो सहयात्री हुँ मलाई नभुल्नु, म तिमिलाई जीवन पर्यन्त भुल्ने छैन ल ।

लेखक नेपाल प्रेस युनियन अछामका अध्यक्ष हुन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update