Hamro Patra
भाँसिएको मनको यात्रा

मन यस्तो हो, पलपलमा विभिन्न कुरा खेलाउँदै विविध विषयमा चासो चिन्ता व्यक्त गर्दै आइरहेको हुन्छ । मनले हरेक पलपलमा केही न केही कुरालाई लिएर चिन्तन गरिरहेको हुन्छ । मनमा उत्पन्न हुने एक प्रकारको तरङ्गले मन भाँसिएको हुन्छ । मनले कहिले शान्ति खोजिरहेको हुन्छ, कहिले मनोरञ्जन, कहिले आराम, कहिले यात्रा, कहिले मिलन, कहिले विछोड, कहिले हाँसो, कहिले रोदन, कहिले सुख, कहिले दुःख । कहिले अभाव र कहिले दबाव र प्रभावले मन भाँसिएको हुन्छ । मानिसलाई विभिन्न समयमा हुने प्रभावले गर्दा जीवनमा उतार चढाव आइरहन्छन्, त्यही कारण मन तरङ्गित भइदिन्छ । तरङ्गित भइरहेको मन बहकिरहेको हुन्छ । बहकिएको मन समुद्र जस्तै आफ्नै ताल र सुर्मा चलिरहेको हुन्छ, आखिर मन नै त हो कतिबेला कुन ताल र सुरमा कता बहकिन्छ त्यो तपाई हामीलाई थाहै नहुन पनि त सक्छ । 

समयको कठिन मोडमा मन भाँसिन थाल्छ अनि मनले मस्तिस्कमा उतारचढावको खैला बैला उत्पन्न गर्छ अनि जीवनमा अनेक प्रकारका अप्राकृतिक मोड आइदिन्छन् । अप्राकृतिक रूपमा आएको मोडलाई छिचोल्न सक्ने ताकत भाँसिएको मनले राख्न सके मात्र हो, नभए जीवन नै सदाका लागि नामेट हुनसक्छ । जसलाई हामी विधिको विडम्बना भन्ने गर्दछौं । मानिसको मन कहिले अति हर्षित हुन्छ । मनले चिताएको भन्दा फरक ढङ्गको सफलता प्राप्त भयो भने । कहिले अति दुःखित हुन्छ । एकाएक निरासा छाएको हुन्छ । मनमा पिडाबोध भइरहेको हुन्छ । सदैब मन अशान्त भइरहेको हुन्छ । मनले मान्दैन अनेकन अनेक इच्छा, चाहाना, भावना, सपना, र्तिसना, प्यास, मोह र माया सुन्दर भविष्य कल्पनाको बहुरंगी मनोयात्रामा निरन्तर दौड गरिरहेको हुन्छ । 

जीवनमा हुने अनपेक्षित जीवन चक्रका सहयात्रा गर्नु प्रने प्राकृतिक तथा केही स्वसृजित काम व्यवहारले सुर विनाको ताल जस्तो चलिरहेको जीवन यात्राका विविध पल स्मरण गर्दै विभक्त चित्र, विचित्र मन भाँसिन पुगेको हुन्छ । कहिलेकाहिं गाउँबेसी, कहिले उकाली त ओराली मेला होस् या वनपात, शहर होस् या गाउँ, हिमाल, पहाड, तराई होस्, महल होस् या झुपडी, जहाँ भए पनि मन स्थिर हुन सकिरहेको हुँदैन । के होला मन शान्त हुने अचुक औषधी ? के गरेर यो मनलाई शान्त गर्न सकिन्छ होला ? विभिन्न कारण पलपलमा भौतारिँदै दौडिरहेको मन निरन्तर विना विश्राम यात्रामा हुन्छ के खोजिरहेको हुन्छ ? केको लागि यात्रा जारी गरेको हुन्छ ? मनमै हुन्छ । यात्रामा नपुग्दै कहिलेकाहिं तय गरेको यात्रामा नपुग्दै रोकिनु पर्ने हुन्छ ? रोकिएर कहाँ यात्रा रोकिन्छ र ? एकपछि अर्को, अर्कोपछि अर्को ? अनेक सोच, अनेक विचार, अनेक चाहाना सृजित भइरहेका हुन्छन् । ति यात्राको परिपुरणका लागि निरन्तर प्रयत्न गरिरहेको मन पूरा गर्न नसक्दा भाँसिन पुग्छ ।

जसले त्यो मनको गहिरो अनुभूति, भित्रको हलचल र निस्किएको भाव व्यक्त गर्न खोज्छ शान्त ताल जस्तै देखिन्छ तर भित्र कतै आँधी चलिरहेको हुन्छ । शब्दहरू मुखमै अड्किन्छन् न निस्कन सक्छन्, न लुकेर बस्न सक्छन् । तर त्यही मन, जसले हाँसो देखाउँछ, भित्र कतै चिच्याइरहेको हुन्छ ? सुन्ने कोही छैन । भाँसिएको मन खाली हुँदैन, त्यसमा आशाहरू, विगतका चोटहरू, नदेखिएका सपना हराएका हुन्छन् । कहिलेकाहिं  लाग्छ मन त डुब्न खोजेको त होइन, कहिँ न कहिँ कसैले सम्हालोस् भनेर बाहिर चिच्याई रहेको त छैन ? मनलाई किन कोही देख्दैनन् ? किन कोही सोध्दैनन् के भयो ? भनेर भाँसिएको मन कहिले शब्दमा आउँदैन ।

यदि हामीले यसलाई बुझ्ने कोशिस गर्‍यौं भने धेरै डुब्न लागेका भाँसिएका मनहरू बाँच्न सक्छन् । सुनौं, सम्झौं, साथ दिऔं हामी सबै कहिलेकाहिं भाँसिन पुग्छौ । सबैले समात्ने हात पाउँदैनौं । घात होइन हात दिउँ हातसँगै साथ दिने गरौं । भाँसिएको मनलाई शान्त पार्न तपाई हामी संघर्षशील बनौं  सोंच, आँट र अठोट लिउँ है ।

मनलाई कहिले लाज हुन्छ, कहिले डर, भित्र चाहिँ एउटा गहिरो चाहना हुन्छ कोही सुन्ने, बुझ्ने, हुँदैन । यति मात्र भन्न सक्ने मन तिमी एक्लो होइनौं । जसले त्यो मनको गहिरो अनुभूति, भित्रको हलचल र निस्किएको भाव भाँसिएको मनको एउटा भित्री यात्रा हो । मानिसको मनको गहिराई समुद्रभन्दा पनि अझ रहस्यमयी हुन्छ । त्यो कहिले शान्त लाग्छ, कहिले चञ्चल । कहिले उज्यालोको खोजीमा दौडन्छ, कहिले अन्धकारमा हराउँछ । एउटा मन, जुन बाहिरबाट सामान्य देखिन्छ, भित्र कतै गहिरो रुपले भाँसिएको हुन्छ धेरैलाई थाहा नहुने गरी । अरूसँग हाँस्छ, बोल्छ, काम गर्छ, सामाजिक व्यवहारमा पनि देखिन्छ । तर भित्र कतै, दिनदिनै आफूलाई गुमाइरहेको हुन्छ । उसलाई लाग्छ “म छु, तर आफूभित्र हराइसकेको छु भन्ने पत्तै    हुँदैन ।’

अनि भक्कानिएर भाँसिने क्रम चल्न शुरु हुन्छ । रुन्छ, कराउँछ, छट्पटी हुन्छ । भाँसिन क्रमशः शुरु हुन्छ । साना कुराबाट सुनिने र नसुनिने शब्दहरूबाट कमजोर छौ तिमीले के गर्न सक्छौ र सबै तिमीले नै बिगारेको हो जस्ता वाक्यहरू, कहिले त बाहिरबाट आउँछन्, कहिले आफैंभित्र बाट । बिना जस्ता मनोवाणीहरू सितका थोपा जस्तै हुन्छन्, तपतप झरि रहेका हुन्छन् । मनभित्रको मुटुमा जम्मा हुँदै जान्छन्, अनि एकदिन पानीमुनि डुंगा डुबेझै डुब्न थाल्छ ।

भाँसिएको मन प्रायः प्रकट हुँदैन । एक्ला एक्लै एकान्तमा रोई कराइ गरिरहेको हुन्छ । सार्वजनिक रूपमा मुस्कुराइरहेको हुन्छ । भाँसिएको मन तपाई हाम्रो साथी पनि त हो । जस्ले तपाई हामीलाई दिनहुँ “म ठीक छु” भनेर जवाफ पनि त दिइरहेको हुन्छ है । मनको  आँखाले केही फरक तवरले देख्छ अनि बोल्छ । थकित, तुर्लुंग, केही नबोलेको बोलीजस्तो गर्छ खुलेर बोल्दैन, भाँसिएको मन तपाई हामीलाई एक्लो बनाउँछ । तथापि त्यो एक्लोपन आफैं रोजेको हुँदै होइन केही न केही भरोसा योग्य अपेक्षा गरेको हुन्छ । त्यसैले मनलाई कहिलेकाहिं लाग्छ कसैले नबुझ्ने भएकाले चुप लाग्नु नै राम्रो हुन्छ भाँसिन्छ अनि चुपुक्क चुप बस्छ । शान्ति, सिर्जनशीलता, भाँसिएको मनले खोजिरहेको हुन्छ । ‘बुझाइ’ उसलाई चाहिन्छ कसैले आँखा हेरेर भनिदेओस्, “तपाईलाई सुन्ने म छु ।” कसैले हात समाएर भनिदेओस्, “तिमी एक्लो छैनौं ।” किनभने भाँसिएको मनले शब्द होइन, आत्मा खोजिरहेको हुन्छ । यस्तो सान्त्वना खोज्छ, न त उपदेश हुन्छ, न दया । उसले केवल साथ खोजिरहेको हुन्छ ।

भँसिएको मनलाई उद्धारका लागि साथ चाहिन्छ । तपाई बुझ्ने मन लिएर आउनुहोस् । सुन्नुहोस् कहिलेकाहिं ‘म तपाईलाई बुझ्छु’ भन्नु नै कसैलाई जीवन त्यागबाट जोगाउन पर्याप्त हुन्छ । भाँसिएको मन लेख्न सक्छ, रचना गर्न सक्छ, प्रेम दिन सक्छ, फेरि बाँच्न सक्छ उसलाई अवसर दिइयो भने । 
भाँसिएको मन सधैं भाँसिने र डुब्ने होइन । डुबिसकेपछि मात्र हामी उद्धारमा सक्रिय हुन्छांै तपाई हामीले डुब्न नदिने प्रयत्न गर्नुपर्छ । भाँसिएको मनले आफूभित्रको गहिराई देख्न थाल्छ । त्यही गहिराईबाट शुरु हुन्छ मनको आत्म चिन्तन, पलाउँछ नयाँ आशा । भाँसिएको मनलाई कमजोर नठान्नुहोस् । भासिएको मनले जीवनलाई निकै गहिरो रूपमा बुझेको हुन्छ । मनोभावनात्मक यात्राले उसलाई अझ मजबुत बलियो बनाएको हुन्छ । भाँसिएको मन हाम्रो समाजको एउटा यथार्थ हो । हाम्रो साथी, आफन्त, वा हामी आफैं पनि हुन सक्छौं ।

यदि हामीले यसलाई बुझ्ने कोशिस गर्‍यौं भने धेरै डुब्न लागेका भाँसिएका मनहरू बाँच्न सक्छन् । सुनौं, सम्झौं, साथ दिऔं हामी सबै कहिलेकाहिं भाँसिन पुग्छौ । सबैले समात्ने हात पाउँदैनौं । घात होइन हात दिउँ हातसँगै साथ दिने गरौं । भाँसिएको मनलाई शान्त पार्न तपाई हामी संघर्षशील बनौं सोंच, आँट र अठोट लिउँ है । हाम्रो समाजमा धेरैजसो मानिसहरू अभाव, दबाव, प्रभाब, पछौटेपन, गरिबी, बेरोजगारी, अशिक्षा, सामाजिक लान्छना, विभेद, आर्थिक अभाव, पारिवारिक तथा संगठनिक समस्याबाट मनोसामाजिक समस्याको चपेटामा परिरहेका छन । सामाजिक क्षेत्रका विविध कारणले मन भाँसिदै गर्दा  जीवन मरणको दोसाँधमा पुगेका छन् । कतिपय मानिसहरु कलकलाउँदो जीवनमा मानसिक औषधीको सेवन गर्न बाध्य छन् । कतिपय व्यक्तिहरू भाँसिएको मन उठ्न नसक्दा देह त्याग नै गरिसके । आखिर के हो जीवन ? के हो मन किन भाँसिन्छ ? के चाहन्छ मनले ? चिताएको सबै कुरा पुग्छ भन्ने पनि कहाँ होला है । निरन्तर दौडमा रहेको मन सपनाको महासागर हो । यसले के के सपना देख्छ के केको चिन्तन गरिरहेको हुन्छ वैज्ञानिक दृष्टिकोणले हेर्ने कुनै यन्त्र छ होला भन्ने अनुमान गर्न मैले सकेको छैन । हाम्रो मनलाई शान्त पार्न हामी सबैले आफ्नो व्यवहार परिवर्तन गरेर शान्त पार्न बाहेक अरु केही उपाय होला भन्ने आश मलाई फिटिक्कै छैन । अरुलाई खुशी पार्न र बुझाउने मन आफै किन भाँसिन्छ ? किन दुःखी हुन्छ ? यो पनि भन्न सक्ने आधार मैले देख्दिन । पहिले पहिले हाम्रो देशको पहाडी क्षेत्रमा ठूला–ठूला जात्रा (मेला) विभिन्न ठाउँँमा लाग्ने गर्दथे अनि ठूला न्याउले खेल खेल्ने चलन थियो त्यो खेलमा गिदाउणा गिदाउणी गित भन्थे ।
              सिलगढी सिपाईका लुगा धुन्छ धुपी धुन्छ । 
              अर्कालाई बुझाउने मन आफै किन रुन्छ ॥ 
              लगेका पहरेदार धुन धुपी धुनो छ । 
              चित्त बुझ्दो काई हुँदैन मन पापी रुनो छ ।

चित्त बुझाउन नसकिरहेको मन रुने मात्र होइन करेन्ट लागेझै पेट्रोलमा सल्किएको आगोझै जलिरहेको हुन्छ । जलन मै भाँसिएर मन खरानी भइ  दिन्छ । जीवनले देखेका, मनले चिताएका, आत्माले जानेका, इन्द्रियहरुले श्रवण, गरेका सबै कुरा मनले एक सेकेन्डमै सदाका लागि नामेट पार्न पनि त सक्छ । मनलाई शान्त पार्न प्राकृतिक रूपमै विचार भावना सकारात्मक रूपमा जागृत गर्दै लिनुपर्छ र मन भाँसिन दिनु हुँदैन । जीवनमा अनेक किसिमका परिस्थिति सामना गर्नु परिरहेको हुन्छ । सबै समस्यालाई समाधान गर्न सकिन्छ भन्ने वैचारिक अडान राखेर आफ्नो मनलाई अति शान्त र सुन्दर बनाउनु नै उत्तम उपाय हो ।

लेखक नेपाल प्रेस युनियन अछामका अध्यक्ष हुन् ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update