
काठमाडौं, बैशाख २८
नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि बनाइएको गभर्नर सिफारिस समितिको बैठक बस्न सकेको छैन । नयाँ गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो ।
पहिलो पटक गठन गरिएको सिफारिस समितिको बैठक एक महिनासम्म पनि बस्न नसकेको भन्दै पूर्वगभर्नरको तर्फबाट सदस्य बनेका विजयनाथ भट्टराईले राजीनामा दिएका थिए । भट्टराईको राजीनामा पछि समितिमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीलाई ल्याइयो । अधिकारीलाई सदस्य बनाएको करिब दुई साता पुग्न लाग्यो । अधिकारीलाई ल्याएर पछिल्लो पटक पुनर्गठित गभर्नर सिफारिस समिति पनि निष्क्रिय बनेको छ ।
हाल गभर्नर सिफारिस समितिमा संयोजक उपप्रधान तथा अर्थमन्त्री पौडेल, तत्कालीन गभर्नर अधिकारी र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल रहेका छन् । यो समितिको पनि बैठक बस्न नसकिरहेको अवस्थामा सरकारले अर्को नयाँ सिफारिस समिति गठन गर्ने तयारी थालेको छ ।
अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समितिले अहिलेसम्म काम गरी नसकेको स्वीकारे । अर्को सिफारिस समिति गठनको सम्भावनाबारे भने उनले अहिले केही भइ नसकेको संक्षिप्त प्रक्रिया दिए । कांग्रेसले गभर्नरका लागि अघि सारेका राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टको राजीनामा कामु गभर्नर निलम ढुंगानाले स्वीकृत नगरेका कारण समितिले औपचारिक काम गर्न पाएन ।
गुणाकर भट्टलाई गभर्नर बन्न नदिनकै लागि राजीनामा अस्वीकृति भएपछि अब कांग्रेसले नै अर्को विकल्प खोजेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार गुणाकरको च्याप्टर अब क्लोज भएको छ । भट्टको विकल्पमा ज्ञानेन्द्र ढुंगानाको चर्चा चले पनि राष्ट्र बैंकको सुपरिवेक्षणमा रहने प्राइभेट वाणिज्य बैंकको सिइओबाट भर्खर छाडेका व्यक्तिलाई बनाउन नमिल्ने बालुवाटारले प्रष्ट पारेको छ ।
कांग्रेसबाटै केही नेताले पूर्व सचिव केबल भण्डारीको नाम समेत लिएका छन् । तर सिफारिस समितिका सदस्य रहेका विश्व पौडेललाई गभर्नर बनाउन कांग्रेसले आन्तरिक छलफल थालेपछि नयाँ समिति गठन गर्न लागिएको स्रोतले जनाएको छ ।
सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस र एमालेबीच सहमति भए पौडेललाई गभर्नर बन्नका लागि उनले समितिको सदस्यबाट राजीनामा दिनुपर्ने हुन्छ । उनले राजीनामा दिएमा अर्को सिफारिस समिति गठन गर्नुपर्ने हुन्छ । जसका लागि नयाँ समिति बनाउने तयारी थालिएको हो ।
स्मरण रहोस्, केही दिन अगाडी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर कांग्रेसको भागमा परेको खुलासा गरेका थिए । काँग्रेसलाई गभर्नर पद दिने पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली पनि रहेको देउवाले बताएका थिए । विश्व पौडेल गत निर्वाचनमा चितवन १ बाट कांग्रेसको उम्मेदवार थिए ।
नेपाल राष्ट्र बैंकको गभर्नर पद गएको चैत्र २४ गतेदेखि रिक्त रहेको छ । डेपुटी गभर्नर निलम ढुङ्गानाले कामु गभर्नरको रूपमा जिम्मेवारी सम्हाली रहेकी छन् ।