
टीकापुर, बैशाख २८
कैलालीको पूर्वी भेगमा शनिवार राति लामो समय विद्युत सेवा अवरुद्ध भयो । जिल्लाको टीकापुर, जोशीपुर, भजनी, जानकीमा ८ बजेदेखी १२ बजेसम्म विद्युत अवरुद्ध रह्यो । छिमेकी जिल्ला बर्दियाको राजापुरमा समेत विद्युत सेवा अवरुद्ध भयो ।
धेरैले लोडसेडिङ सुरु भएको अनुमान गरे । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक फेरिएसँगै देशभर लोडसेडिङ हुने ब्यापक हल्ला छ । चार घण्टासम्म विद्युत अवरुद्ध भएपछि सर्वसाधारणले अनुमान गर्नु पनि स्वभाविकै हो ।
यस्तो गर्मीको समयमा लामो समय विद्युत अवरुद्ध भएपछि सर्वसाधारणले निकै सास्ती खेपे । यही मौकामा कतिपयले लोडसेडिङ गरेको भन्दै सामाजिक सञ्जाल मार्फत सरकार प्रति आक्रोस पनि पोखे ।
तर लामो समय विद्युत अवरुद्ध हुनुको कारण लोडसेडिङ थिएन । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ सुरु गरेको पनि छैन । विद्युत अवरुद्ध हुनुको कारण थियो ३३ केभीको प्रशारण लाईन टुट्नु ।
नेपाल विद्युत प्राधिकरण टीकापुरका कार्यालय प्रमुख कपिल जोशीका अनुसार अमौरी जंगलमा प्रशारण लाईनको तार टुटेर विद्युत अवरुद्ध भएको हो । उनले तार मर्मत गर्दा समय लागेको बताए ।
करिव ८ बजेतिर विद्युत अवरुद्ध भएपछि सुरुमा त के समस्या भयो भन्ने नै स्पष्ट भएन । प्राविधिकहरुले तार टुटेको हुनसक्ने अनुमान गरे । उनीहरु टीकापुरबाट ३३ केभी प्रशारण लाईनको तार हेर्दै लम्कीतर्फ हिँडे ।
अमौरीको जंगलमा पुगेपछि मात्रै प्राविधिक टोलीले तार टुटेको भेटायो । अनि सुरु भयो तार मर्मतको काम । ‘मुख्य लाईन नै टुटे पछि मर्मत गर्न समय लाग्यो’ कार्यालय प्रमुख जोशीले भने–‘लामो समय विद्युत अवरुद्ध भएपछि त्यस्तो सोच्नु स्वभाविकै हो ।’
शनिवार दिउसो ५ बजेदेखी नै लम्की–टीकापुर प्रशारण लाईनमा समस्या आईरहेको थियो । कार्यालय प्रमुख जोशीका अनुसार लम्कीस्थित सवस्टेशनको ट्रान्सफर्मर तातेर बेलाबेलामा विद्युत अवरुद्ध भैरहेको थियो । यसरी बेलाबेलामा विद्युत आउने जाने भएपछि प्रशारण लाईनको तार तातेर टुट्ने गर्छ ।
‘निकै पुरानो संरचना छ । मर्मतकै भरमा चलिरहेको छ’ कार्यालय प्रमुख जोशीले भने–‘वैकल्पिक व्यवस्था निर्माणमा भैरहेको ढिलाईले यो वर्ष थप समस्या भोग्नुपर्ने देखिन्छ ।’
विद्युत प्राधिकरणले हालको ३३ केभी प्रशारण लाईनको विकल्पको रुपमा अर्को प्रशारण लाईन निर्माण गर्न ठेक्का दिएको छ । सोही अनुसार टीकापुर–लम्की सडक छेउमा पोल गाड्ने काम सम्पन्न भैसकेको छ । तार तान्ने काम भने सुरु नै भएको छैन । यो वर्षामा थप काम हुने सम्भावना नरहेको स्रोतको भनाई छ ।
जसले गर्दा हालको ३३ केभी प्रशारण लाईनमा कुनैपनि बेला समस्या आउने देखिन्छ । त्यसले टीकापुर र आसपासका क्षेत्रको विद्युत सेवा जोखिममा छ ।