-1747486211.jpeg)
टीकापुर, जेठ ३
टीकापुर नगरपालिकाका कतिपय सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यममा पढाई सुरु गरेका छन । वर्षेनी घट्दो क्रममा रहेको विद्यार्थी संस्था बढाउन सामुदायिक विद्यालयले अभिभावकको मागलाई मध्य नजर गर्दै अंग्रेजी माध्यममा पढाई सुरु गरेको बताएका छन ।
कतिपय सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु भएपछि विद्यार्थी संख्या बढेको छ । तर कतिपयमा भने समस्या उस्तै छ । विद्यालयका अनुसार अंग्रेजी माध्यमले पनि विद्यार्थी संख्या बढ्न सकेको छैन ।
नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय मध्ये सबैभन्दा पहिला अंग्रेजी माध्यममा पढाई सुरु गर्ने विद्यालय वडा नम्बर १ स्थित कर्णाली मावि हो । उसले २०७३ सालमा अंग्रेजी माध्यम सुरु गरेको थियो । विद्यालयमा बालविकासदेखी कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाई भैरहेको प्रधानाध्यापक धर्मराज शर्माले जानकारी दिए ।
उनले अंग्रेजी माध्यमका लागि छुट्टै कक्षा कोठाको व्यवस्था गरिएको बताए । विद्यालयले अंग्रेजी माध्यमलाई प्राथमिकतामा राखेको छ । सो विद्यालयमा कक्षा ६ देखी मात्रै नेपाली माध्यममा पढाई हुन्छ । ‘नेपाली माध्यमबाट कक्षा ५ उत्तीर्ण भएर भर्ना हुन आएका विद्यार्थीका लागि भएपनि कक्षा ६ बाट नेपाली माध्यममा पढाई गर्नुपर्ने भयो’ प्रधानाध्यापक शर्माले भने–‘हाम्रो फोकस अंग्रेजी माध्यममै छ ।’
कुनैबेला सामान्य अवस्था रहेको विद्यालयमा गतवर्ष अंग्रेजी माध्यम तर्फ मात्रै २ हजार १०४ जना विद्यार्थी अध्ययनरत थिए । यस विद्यालयका हकमा भने अंग्रेजी माध्यम निकै सफल भएको देखिन्छ ।
टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमारास्थित जनप्रकाश आधारभूत विद्यालयले समेत अंग्रेजी माध्यमलाई प्राथमिकतामा राखेको छ । विद्यालयले २०७९ सालबाट अंग्रेजी माध्यम सुरु गरेको हो । जहाँ बालविकासदेखी कक्षा ३ सम्म अंग्रेजी माध्यममा पढाई हुन्छ ।
वडाकै एकमात्र सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम प्रति अभिभावकको आकर्षण बढेको प्रधानाध्यापक रघुनाथ उपाध्यायले बताए । उनले न्यून आय भएका अभिभावकलाई मध्यनजर गर्दै अंग्रेजी माध्यम सुरु गरिएको जानकारी दिए । ‘अभिभावकले नै अंग्रेजी माध्यम प्रति चासो देखाए’ उनले भने–‘अभिभावकको चाहना पूरा गर्नै पर्यो ।’
टीकापुर नगरपालिका वडा नम्बर २ सीतापुरस्थित जनजागृती माविमा भने अंग्रेजी माध्यम खाशै प्रभावकारी हुन सकेको छैन । सो विद्यालयमा कक्षा ३ सम्म अंग्रेजी माध्यम सुरु गरिएको छ । प्रधानाध्यापक मुक्तिप्रसाद भण्डारीले विद्यार्थीको संख्या अपेक्षाकृत बढ्न नसकेको बताए । ‘हामी कहाँ खाशै प्रभावकारी भएन’ उनले भने–‘सायद अभिभावकले सामुदायिक विद्यालयलाई विश्वास नगरेको हुनसक्छ ।’
टीकापुर नगरपालिका वडा नम्बर ९ झुंगास्थित सेतीमैया माविले पनि अंग्रेजी माध्यममा पढाई सुरु गरेको ३ वर्ष भयो । प्रधानाध्यापक पतिराम चौधरीले विद्यार्थी संख्या घटेपछि अंग्रेजी माध्यम सुरु गरेको जानकारी दिए । उनले हाल बालविकासदेखी कक्षा ३ सम्म पढाई भैरहेको बताए । उनले समेत अंग्रेजी माध्यम खाशै प्रभावकारी हुन नसकेको दुखेसो पोखे ।
सरस्वती मावि वनगाउँले समेत कक्षा ३ सम्म अंग्रेजी माध्यम सञ्चालन गर्दै आएको छ । प्रधानाध्यापक खगेन्द्र घर्तीमगरले भर्ना अभियान जारी रहेकाले विद्यार्थीको संख्या एकिन नभएको जानकारी दिए । उनले गतवर्षको विद्यार्थी औषत हेर्दा ५०÷५५ जना पुग्नसक्ने बताए । उनले अभिभावकको चाहना अनुसार अंग्रेजी माध्यम सुरु गरेको बताए ।
खक्रौलास्थित भानुभक्त आवाशीय माविले यो वर्षबाट अंग्रेजी माध्यम सुरु गर्दैछ । प्रधानाध्यापक विक्रम धामीले विद्यार्थीको घट्दो संख्या र अंग्रेजी शिक्षा प्रतिको आकर्षणलाई मध्यनजर गर्दै अंग्रेजी माध्यम सुरु गरेको बताए । उनले अंग्रेजी माध्यमले विद्यार्थीको संख्या बढ्ने विश्वास व्यक्त गरे । ‘विद्यार्थीको संख्या बढ्नेछ’ उनले भने–‘नत्र सामुदायिक विद्यालय रित्तिने खतरा देखियो ।’
वडा नम्बर ३ घियास्थित हिमालय माविले अंग्रेजी माध्यम मात्रै सुरु गरेको छैन अंग्रेजी माध्यममा पढ्न आउने विद्यार्थीका लागि कापी, किताब, स्टेशनरी र झोला समेत निशुल्क प्रदान गरेको छ । २०७९ मा अंग्रेजी माध्यम सुरु गरेको विद्यालयले समेत विद्यार्थीको आकर्षण बढाउन यस्तो अभियान सुरु गरेको प्रधानाध्यापक बुद्धीराम चौधरीले जानकारी दिए । उनले कक्षा ३ सम्म ५० जना विद्यार्थी पुग्ने बताए । सो विद्यालयमा समेत हाल भर्ना अभियान जारी रहेको छ ।
‘विद्यार्थी जति बोर्डिङ स्कुल जान थालेपछि रोक्नका लागि यस्तो अभियान सुरु गर्यौ’ चौधरीले भने–‘सामुदायिक विद्यालयको अंग्रेजी माध्यमले केही विद्यार्थी संख्या बढाउने छ ।’
टीकापुर नगरपालिकाका विद्यालय निरिक्षक नरेश अवस्थीले नगरपालिकाका १३ वटा सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पढाई सुरु गरेको जानकारी दिए । उनका अनुसार अंग्रेजी माध्यममा पढाई सुरु गर्नेमा हिमालय मावि घिया, जनप्रकाश आवाशीय बाघमारा, कर्णाली मावि टीकापुर, खड्ग स्मृति मावि टीकापुर, जनजागृती मावि सीतापुर, राष्ट्रिय मावि नारायणपुर, सेतीमैया मावि झुंगा, भानुभक्त आवि खक्रौला, नवदुर्गा आवि व्यवशाय, कालिका आवि चौगुर्दी, टीकापुर कन्या आवि, राष्ट्रिय मावि मनिकापुर र सरस्वती मावि वनगाउँ रहेका छन ।
उनले विद्यार्थीको आकर्षण बढाउने गरी विद्यालयले पाठ्यक्रम थप्ने तयारी गरेको बताए । उनले सुरुवात भएकाले केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप अपेक्षाकृत बढ्न नसके पनि बिस्तारै विद्यार्थी संख्या बढ्ने बताए ।
‘धेरैजसो विद्यालयले सुरु गरेका छन । तत्काल अभिभावकले विश्वास नगरेको हुनसक्छ’ उनले भने–‘बिस्तारै प्रभावकारी हुँदै जानेछ ।’
पछिल्लो समय अभिभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने क्रम बढेको छ । जसले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घटेको छ । नगरपालिका भित्रैका कतिपय विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको छ । कतिपय विद्यालयमा शिक्षक कर्मचारी र विद्यार्थीको संख्या बराबर जस्तै देखिन्छ ।