Hamro Patra
सेनाले गर्यो बडीमालिका मन्दिरको पुर्ननिर्माण

टीकापुर, असार २७
सुदूरपश्चिमको प्रसिद्ध शक्तिपिठ बडीमालिका माताको मन्दिरको पुर्ननिर्माण गरिएको छ । नेपाली सेनाले दुई करोडको लागतमा मन्दिरको पुर्ननिर्माण गरेको हो । 

पुरातत्व विभागको डिजाइनमा मन्दिरको पुर्ननिर्माण गरिएको निर्माण कार्यमा खटिएका नेपाली सेनाका सुवेदार गणेश खनालले जानकारी दिएका छन । उनले सेनाले मन्दिर पुर्ननिर्माणको काम चैत महिनाबाटै सुरु गर्न खोजे पनि हिमपातका कारण ढिलाई भएको बताए । 

हिमपातका कारण मन्दिर पुर्ननिर्माणको काम जेठ पहिलो साताबाट सुरु गरिएको थियो । सुवेदार खनालले मन्दिर पुर्ननिर्माणको काम सकेर असार २३ गते मन्दिरको सबै जिम्मेवारी पूजारीलाई सुम्पेको जानकारी दिए । 

मन्दिर पुर्ननिर्माणमा ढुंगाको काम गर्न रामेछाप र काठको काम गर्न ललितपुरबाट कालिगढ लगिएको थियो । सुवेदार खनालले अन्य काम सेना र स्थानीयले गरेको बताए ।

सेनाले ढुंगा र काठ हेलिकोप्टर मार्फत ढुवानी गरेको थियो । भौगोलिक विकटताका कारण ढुंगा र काठ बोक्न नसकिने भएकाले हेलिकोप्टर मार्फत ढुवानी गर्नुपरेको सेनाले जानकारी दिएको छ । यो ठाउँ ४२६७ मिटर उचाईमा रहेको छ । 

‘ठूलो सामान हेलिेकोप्टर मार्फत ढुवानी गरेको हो’ सुवेदार खनालले भने–‘अन्य सामान सेना र स्थानीयले बोकेर लग्यौं ।’

सेनाले महासेनानी शिव पौडेललाई मन्दिर पुर्ननिर्माणको जिम्मेवारी सुम्पेको थियो । उनकै नेतृत्वमा मन्दिर पुर्ननिर्माणको काम सम्पन्न भएको छ । मन्दिरको उद्घाटन असोजमा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले गर्ने बताईएको छ । 

बडीमालिका नेपालकै प्रमुख मन्दिरहरु मध्ये एक हो । यो बाजुराको त्रिवेणी नगरपालिकामा पर्छ । यहाँ हरेक वर्ष जनैपूर्णीमाको दिन पूजाआजा हुनुका साथै मेला लाग्ने गर्छ । 

मन्दिरमा सरकारका तर्फबाटै पुजारी नियुक्त गरिन्छ । यहाँ डोटी, अछाम, बाजुरा, कालिकोट र जुम्लाका प्रमुख जिल्ला अधिकारी र अन्य सरकारी कर्मचारीहरुको हातबाट सरकारी पूजा सम्पन्न हुन्छ । 

बडीमालिका धार्मिक मात्र नभएर पर्यटकीय हिसाबले पनि उत्तिकै महत्वपूर्ण रहेको छ । नजिकै देखिने सुन्दर हिमाल, विशाल फाँट र ती फाँटमा फूलेका अनगिन्ती फूलहरुले बडीमालिकाको सौन्दर्य दर्शाएको छ । 

तस्विर ः सुवेदार गणेश खनाल 


प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update