-1753682394.jpeg)
टीकापुर, साउन १२
सञ्चालन तथा व्यवस्थापन कार्यविधिको टुंगो नलाग्दै रानी जमरा कुलरिया सिँचाई आयोजना अन्र्तगत निर्मित विद्युत गृह उद्घाटनको तयारी भैरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार विद्युत गृह उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजनाले जनाएको छ ।
राष्ट्रिय गौरवको सिँचाई आयोजनाले जानकी गाउँपालिका वडा नम्बर ९ कटासेमा विद्युत गृह निर्माण गरेर उत्पादन सुरु गरेको छ । ४ दशमलव ७१ मेघावाट क्षमताको विद्युत गृहले २०८० माघ १६ गते परिक्षण उत्पादन सुरु गरेको इन्जिनियर अनिष श्रेष्ठले जानकारी दिएका छन । ‘त्यस यता पूर्ण क्षमतामा विद्युत उत्पादन भैरहेको छ’ उनले भने–‘कहिले काँही समस्या आउने कुरा सामान्य हो ।’
आयोजनाले उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको लम्कीस्थित प्रशारण केन्द्रमा पठाएको छ । प्रशारण केन्द्रले सो विद्युत ३३ केभी मार्फत राष्ट्रिय प्रशारण लाईनमा जोडेको छ ।
विद्युत गृहले नियमित उत्पादन गर्दै आएको भएपनि सञ्चालन तथा व्यवस्थापन कार्यविधिको भने अझै टुंगो लाग्न सकेको छैन । आयोजनाले २०८० पुष महिनामै सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार पारेर स्विकृतीका लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा बुझाएको थियो ।
कार्यविधिमा सो मन्त्रालयका सचिवको अध्यक्षतामा चार सदस्यीय समिति गठन गर्ने उल्लेख छ । सो समितिको सदस्यहरुमा महानिर्देशक, उपमहानिर्देशक र आयोजना प्रमुख रहने व्यवस्था गरिएको छ ।
सोही समितिले उत्पादित विद्युत खरिद बिक्रीका बारेमा नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गर्ने उल्लेख छ । कार्यविधिमा विद्युत बिक्री गरे वाफतको रकम समितिका खातामा जम्मा हुनुपर्ने व्यवस्था गरिएको छ ।
समितिले विद्युत गृह सञ्चालन र मर्मत बाहेकको रकम आम्दानीका रुपमा राजश्वमा दाखिला गर्ने गरी आयोजनाले कार्यविधि तयार पारेको छ । सो कार्यविधिका बारेमा अझैसम्म पनि अध्ययन भैरहेको इन्जिनियर श्रेष्ठले जानकारी दिए ।
आयोजनाले पेश गरेको कार्यविधि अनुसार नै अघि बढ्ने वा फेरबदल गर्ने बारेमा अध्ययन भैरहेको स्रोतले जानकारी दिएको छ ।
मन्त्रालयले अध्ययन पश्चात कार्यविधि स्विकृतीका लागि अर्थ मन्त्रालयमा पेश गर्नुपर्नेछ । अर्थ मन्त्रालयको स्विकृती पश्चात मात्रै कार्यविधि कार्यान्वयनमा आउने बताईएको छ ।
अझैसम्म पनि कार्यविधि अध्ययन र स्विकृतीको काम अघि नबढेपछि विद्युत गृह सञ्चालनका बारेमा अन्यौलता सिर्जना भएको छ । उत्पादन सुरु गरेपनि विद्युत गृहले आयोजनालाई व्ययभार थपेको छ । आयोजनाले विद्युत बेचेर वार्षिक ३० करोड आम्दानी गर्नेछ ।
चार वर्षमा विद्युत गृहको सम्पूर्ण लगानी असुल हुनेछ । विद्युत गृह निर्माणमा १ अर्ब रुपैयाँ खर्च भएको छ । विद्युत गृहले २५ वर्षमा सम्पूर्ण सिँचाई आयोजनाको लगानी असुल्ने अनुमान गरिएको छ ।
सिँचाईसँगै विद्युत समेत उत्पादन थालेको यो आयोजना देशकै नमूना बहुउदेश्यीय परियोजना हो । आयोजनाले सिँचाई, विद्युत, नदी नियन्त्रण, सडक र कृषि उत्पादनलाई प्राथमिकतामा राखेको छ ।