टीकापुर, चैत ३
ठिक एक वर्षअघि लम्कीचुहा वडा नं. १० को एक कार्यक्रममा प्रशिक्षकका रुपमा जाँदै थिएँ । दश बजे टीकापुरबाट हिँडेको म साढे ११ बजेको कार्यक्रम भन्दा अगाडि नै चुहा पुग्ने भएपछि बुबाआमा भेट्न गुलरा घर गएँ । बुबा खाना खाएर बेञ्चमा बसेका थिए, आमा जुठो हातसहित धारामा थिइन् । स्वास्थ्य सम्बन्धी समस्याबाट ग्रसित बुबाको अवस्था बुझ्न त्यही बेञ्चमा बसें । बुबासँग कुरा गर्दै मोबाइल खोले । म्यासेन्जरमा अपरिचित नामबाट धेरै कल आएको थियो । को रहेछन् भनेर कल गरें । धाराबाट फर्किएर आमा मेरो छेउमा बसिन्, म बुवा र आमाको बीचमा थिएँ । ‘मै उसका दोस्त हुँ, कम्पनीसे फोन आयाथा, उसका डेथ बडी रुममे पडा है, आपका ह्वाट्सएप नम्बर दिजिए….’ म्यासेन्जरमा सुनिएको यो आवाजसँगै मैले खुट्टा टेकेको जमिन भाँसियो । मेरा आँखा आँशुले भरिए । १८ वर्षदेखि पत्रकारिता क्षेत्रमा काम गरिरहेको म आफ्ना अनुभव सुनाउन चुहा जाँदै थिएँ, अनुहारमा खुशी थियो । म्यासेन्जरको कलले मेरो अनुहार एकाएक कालो भयो । बुवाले आत्तिँदै सोधे, ‘कसको फोन हो ?’
मैले लामो स्वाँस तानें, बेञ्चबाट उठेर सडकमा गएँ, कम्पनीको म्यानेजरले कल गर्यो । ‘हिजो साँझ खाना खाएर रुममा सुतेको प्रेम विहान उठेन, झ्याल खोलेर हेर्दा ऊ मृत भेटियो । दुई तीन जना लिएर तिमी तुरुन्तै हरियाणा आऊ ।’ दुई दिनअघि मात्रै फोनमा कुराकानी गरेको मेरो प्यारो भाई प्रेमको मृत्युको खबरले म सम्हालिन सकिनँ । पल्लो घरकी भाउजु, छिमेकी दिदी सबै घरमा आइसकेका थिए, मलाई के गरौं, कसो गरौं भइरहेको थियो । आमा आत्तिँदै म भएको सडकतिर आउँदा म खेततिर पसें । मेरो शरीर र खुट्टा थरथरी कापें, मलाई संसार पूरै अन्धकार झैं लाग्यो । के भनौं ? कसलाई भनौं ? कसरी भनौं ? केही समझमा आएन । सडक किनारमा थचक्क बसें । सपना भनौं, यहाँ विपना मैले अझै यकिन गर्न सकेको छैन । मेरो अगाडि मामाको जेठो छोरा भानु दाजु र योगेश रावल दाईलाई उभिएको देखें । हत्तपत्त फोन निकालेर दुबै जनालाई घटनाबारे सुनाए । तुरुन्तै गुलरा घर आउन भनें । घर परिवारका कसैलाई उसको मृत्युको खबर नभन्न भन्दै म हरियाणा जान तयार भएँ । खै कसले हो ? भाई बुहारी बन्धनालाई स्कुलबाट लिएर आयो । बुहारीलाई देखेपछि मैले आँशु थाम्न सकिनँ । गतवर्ष मंसिर महिनादेखि बिरामी रहेका बुबालाई केही भयो कि ? भन्ने सोचेर बुहारी रुन थालिन् । घरमा मान्छेहरु जम्मा हुँदै गए । छिमेकीहरुले मेरो हातमा भारतीय रुपैयाँ थमाए । रुँदै गरेकी बुहारीलाई प्रेम अस्पतालमा छ ? निकै गाह्रो छ, उसलाई म गएर आउँछु भन्दै म निस्किएँ ।
सुख्खडबाट भानु दाई आइपुगेका थिए भने टीकापुरबाट योगेश दाई र प्रकाश दाई आए । उनीहरुले हामीलाई सुख्खड भेटे । उसको मृत्युको खबर सुनेर पनि मलाई ऊ जीवितै छ भन्ने लागिरहेको थियो । महेन्द्रनगर हुँदै वनवासा भएर हामी हरियाणा पुग्यौं । कम्पनीको म्यानेजरले मलाई स्थानीय प्रहरी, कम्पनीका कर्मचारीहरुको नम्बर दिएका थिए । राति ३ बजे हामी प्रहरी चौकी पुग्यौं । ती प्रहरी अधिकारीले हामीलाई घटनाबारे सबै बताए । फोटो, भिडियो देखाए । राति खाना खाएर खाटमा सुतेको ऊ विहान भुइँमा घोप्टो परेको थियो । आवश्यक प्रक्रिया पूरा गरेर ती प्रहरीले हामीलाई पानीपथको जिल्ला अस्पताल जान भनें, जहाँ शव राखिएको थियो । विहान ९ नबज्दै अस्पताल पुगेका प्रहरी अधिकारीले पोष्टमार्टमका लागि कागजात तयार गरेका थिए । शव राखिएको घरमा १६ भन्दा बढी शव थिए । लाइनको तेश्रो नम्बरमा प्रेम थियो । उस्तै अनुहार, मस्त निन्द्रामा सुतेझैं । मैले उसको अनुहार छामें, मनमनै भक्कानिरहेको मैले सहन सकिनँ, जोरले कराएँ, ‘प्रेम…..’
हामी पहाडमै थियौं । २०५१ सालमा आमा बिरामी भएर बुबाले उपचार गर्न बम्बै लिएर गएका थिए । एक वर्षसम्म उपचार गर्दा समेत आमा घर फर्किएकी थिइनन्, आमा घरमा नहुँदा हामीलाई न्यास्रो हुन्थ्यो । हाम्रो खेती थियो, दुई दिदी, म र भाई थियौं घरमा । गोरु, बाख्रा र भैंसी थिए । खेतमा पर्सो बोक्न गाउँका आन्टी, बजै, भाउजुहरु लागेका थिए । उमेरले म भन्दा डेढ वर्ष कान्छो भए पनि प्रेम हट्टाकट्ठा र बलियो थियो । सानो डोकोमा प्रेम र म पर्सो बोक्दै थियौं । दुई किलोमिटर जति टाढाबाट पर्सो बोक्दै गर्दा मैले भनेको थिएँ, ‘पे्रम हामी घर पुग्दा आमा आएको हुनु है …।’ शब्द नसकिँदै म भावुक भएँ । प्रेमले मलाई ढाडस दिँदै भनेको थियो ‘एकदिन आइहाल्छन् नि, नरो ।’ त्यसयता उसको अगाडि म रोएको थिइनँ । बच्चैदेखि मलाई ढाडस दिने मेरो प्रेम मेरो अगाडि चीर निन्द्रामा थियो । उसको निन्द्रा देखेर ७२ वर्ष पुगेकी मेरो आमालाई सम्झिएँ । जीवनको उत्तरार्धमा पुगेका बुबा सम्झिएँ । दश कक्षा पढ्दै गर्दा उसले भगाएर बिहे गरेकी बुहारी सम्झिएँ । दुई छोरी र छ वर्षीय छोरा सम्झिएँ । खै कसरी म लास घरबाट बाहिर निस्के, सम्झना छैन ।
जेठी आमा बितिन् । गत साउनमै ठूलो बुबा बिते । घरको जेठो छोरा मैले दुबैको काजक्रिया गरें । काजक्रिया सकिएपछि बुबाले एकदिन भनेका थिएँ, ‘दाजुभाउजुको क्रिया तैले गरिस्, हाम्रा काजक्रिया प्रेमलाई गर्न दिनुँ ।’ आफ्नो काजक्रिया प्रेमलाई गर्न दिनु भनेका बुवाले ८१ वर्षको उमेरमा तेरो क्रिया गर्नु पर्यो । तैले यस्तो के गरिस्, मेरो भाई ?
गत चैत्र ४ गते तैले काम गर्ने कम्पनीबाट आएको फोनपछि आजसम्म मेरो आँखा ओभानो छैन । मैले आफूलाई सम्हाल्न सकेको छैन । हरेक पल, हरेक क्षण तँ मेरो वरिपरि घुम्छस् । प्रेम अस्पतालमा छ, म लिएर आउँछु भनेको बुहारीलाई मैले एक वर्ष बितिसक्दा समेत जवाफ दिन सकेको छैन । क्रियाको सातौं दिनमा ६ वर्षको कलिलो छोरो भास्करले ‘ठूलो बाबा मेरो बाबालाई के भएको हो ?’ भनेर सोधेको प्रश्नको जवाफ मैले दिन सकेको छैन, सायद सक्दिनँ पनि ।
बच्चादेखि नै मनमा लागेको गरिछाड्ने तेरो बानी । हामीले पटक पटक सम्झाउँदा पनि तैले मानिनस् । कलिलो उमेरका बालबच्चा र वृद्ध बुवाआमाको कुरा समेत तैले सुनिनस् । तँलाई जेमा खुशी हुन्थ्यो, त्यही गरिस् । जेठो दाई भन्दा अगाडि नै हतारमै बिहे गरेको तैले मृत्यु पनि अघि नै रोजिस् । जाँदा एक शब्द, एक वचन पाएको भए पनि मन शान्त हुन्थ्यो होला । तसँग मेरा धेरै प्रश्न छन्, तर कसलाई सोध्ने, कसलाई सुनाउने ? मसँग विकल्प छैन ।
मेरो प्यारो भाई, तँ जहाँ छस् सुखसँग बस्नु, कसैको चित्त नदुःखाउनु, घर परिवारको जिम्मेवारी, बुवाआमाको हेरचाह, स्वास्थ्य अवस्था, पारिवारिक अवस्थाबारे तँलाई सबै थाहा छ । मैले सकेसम्म तेरो कमी हुन दिने छैन । सानो बाबुलाई जवाफ दिन सक्ने गरी मलाई साहस दिनु, ढाडस दिनु, तेरो मृत्युको खबर सुनेदेखि थरथराईरहेका हाम्री आमाका ओठहरुमा म खुशी भर्न सकुँ । मैले जेगर्दा पनि काका भनेर सम्झिने तेरा भतिजा भतिजीलाई आशिष दिनु । कलिलै उमेरमा भिनाजु गुमाएकी हाम्री जेठी दिदीलाई ‘दिदी केही नमान, दाजी छ भनिदिनु । कान्छी दिदीलाई सम्झँदै गरिस् ।
मेरा लागि हाम्रा पितृहरु, कुलदेवता, कालिका देवी सबैलाई दाहिने हुन भनी प्रार्थना गरिदिनु । तेरो आर्शिवाद र ढाडसले म संसारका दुःख उठाउन सकुँ । भन्नुपर्ने धेरै कुरा छन्, यो लेखिरहँदा आशुँले लत्पतिएका मेरा परेलामा तेरा हरेक स्मृति ताजै छन् । अन्त्यमा एउटा कुरा मात्रै भन्छु, यो जुनी जेसुकै भए पनि अर्को जुनी हुन्छ भने मेरै भाई भएर, हाम्री आमैको कोखमा जन्मिनु, लामो आयु लिएर ।
हार्दिक श्रद्धाञ्जली, अलविदा प्यारे…. ।




