जीवनलाई शब्दमा बाँधेर पूर्ण रूपमा व्याख्या गर्न सकिन्छ भन्ने कुरा मलाई कहिल्यै लागेन । किनकि जीवन शब्दभन्दा ठूलो छ, अनुभूतिभन्दा गहिरो छ र मौनताभन्दा पनि बढी बोल्ने क्षमता यसमा हुन्छ । कहिले यो उज्यालो बिहानजस्तो लाग्छ, कहिले धुम्मिएको साँझजस्तो । कहिले माया बनेर अँगालो हाल्छ, कहिले पीडा बनेर छातीभित्र गहिरो घाउ छोडेर जान्छ । तर यही विरोधाभासभित्र नै जीवनको सौन्दर्य लुकेको हुन्छ—यो कुरा मैले समयसँगै बुझ्दै आएको छु ।
जब म आफ्नो विगत सम्झन्छु, मेरो मन शान्त तालजस्तो रहँदैन; त्यो त स्मृतिहरूको उठान–पतनले भरिएको समुद्र बन्छ । जहाँ लहरहरू कहिले गर्वले उठ्छन्, कहिले आँसु बनेर भित्रै डुब्छन् । मैले बाँचेको जीवन केवल व्यक्तिगत यात्रा थिएन—त्यो समाजसँग गाँसिएको, संवेदनशील र जिम्मेवारीले भरिएको एउटा लामो कथा थियो ।
मेरो जीवनको ऊर्जाशील समय मैले समाजकै लागि समर्पित गरें–न पदको लोभले, न नामको चाहनाले; केवल एउटा भित्री आवाजले, जसले मलाई बारम्बार भन्थ्योः “यदि तिमी बोल्न सक्छौ भने मौनहरूको आवाज बन ।” यही आवाजले मलाई रेडियो पत्रकारितासम्म पुर्यायो ।
रेडियो मेरो लागि केबल माध्यम थिएन, त्यो मेरो आत्माको विस्तार थियो । माइक्रोफोन अगाडि बसेर जब म बोल्थें, मलाई लाग्थ्यो–म केबल समाचार पढिरहेको छैन, म हजारौँ नबोलिएका कथाहरूलाई जीवन दिइरहेको छु । स्थानीय भाषा, कला, साहित्य, संस्कार र संस्कृतिको संरक्षणका आवाजहरू मैले त्यहीँबाट उठाएँ । पर्यटनका सम्भावनाहरूलाई उजागर गरें, सामाजिक तथा आर्थिक सशक्तीकरणका बहसहरू अघि बढाएँ र जनचेतनामूलक कार्यक्रमहरूमार्फत समाजका मौन कुनाहरूमा उज्यालो पुर्याउने प्रयास गरें ।
गाउँका धुलाम्मे बाटाहरू, संघर्षले भरिएका अनुहारहरू, सपना देख्न पनि हिच्किचाउने आँखाहरू–यी सबै मेरो रिपोर्ट मात्र थिएनन्, ती मेरो अनुभूति थिए । कहिले कुनै आमाको काँपिरहेको स्वरमा पोखिएको पीडा, कहिले बालकको अधुरो सपना, कहिले श्रमिक युवाको मौन थकान—यी सबैले मेरो भित्र गहिरो तरंगहरू उठाउँथे । म लेख्थें, बोल्थें, तर भित्र कतै म आफैं ती कथाहरूमा बगिरहेको हुन्थें । पत्रकारिता मेरो लागि पेशा होइन, एक जिम्मेवारी थियो । शब्दहरू केबल अक्षर थिएनन्—ती त समाजका घाउमा लगाइने मल्हम थिए ।
समयसँगै मेरो यात्रा कर्मतर्फ अझ गहिरियो । जब म जनप्रतिनिधिको हैसियतमा उभिएँ, तब मैले शब्दभन्दा कर्मको भाषा सिकें । शिक्षा र स्वास्थ्य सुधारका पहलहरू, स्वच्छ खानेपानीको व्यवस्थापन, यातायात सहज बनाउन सडक निर्माण—यी केवल योजनाहरू थिएनन्, यी त जनजीवनसँग प्रत्यक्ष जोडिएका परिवर्तनका आधार थिए ।
कृषिमा आधुनिकता भित्र्याउन उन्नत बीउबिजन, पशुपालन र सिँचाइ प्रणाली विकास गरियो । पर्यटन विकासका सम्भावनाहरूलाई मूर्त रूप दिने प्रयास भए । भौतिक पूर्वाधार निर्माण, विद्युत विस्तार, सञ्चार र सुरक्षाका लागि सिसिटिभी जडानजस्ता कामहरू अघि बढाइए ।
जब कोभिड–१९ को संकट आयो, त्यो त स्वास्थ्य चुनौती थिएन, त्यो मानवीय परीक्षाको घडी थियो । जोखिम न्यूनिकरण, उपचार व्यवस्था, क्वारेन्टाइन सञ्चालन, राहत वितरण–यी सबै कार्यहरूमा सक्रिय रहँदा मैले जीवनको अर्को कठोर यथार्थसँग साक्षात्कार गरें ।
समाजसँगको सम्बन्धलाई अझ मजबुत बनाउन टोल विकास संस्थाहरू गठन गरिए, सहकारी संस्थाहरू स्थापना र सञ्चालन गरिए, विभिन्न समूहहरू परिचालित गरिए । छलफल, बहस र पैरवीमार्फत स्थानीय आवाजलाई नीतिगत तहसम्म पुर्याउने प्रयास गरियो ।
मठ–मन्दिर निर्माणदेखि लिएर संस्कार र संस्कृतिको संरक्षणसम्म, विपद् व्यवस्थापनदेखि लिएर सामाजिक सहकार्यसम्म–जनप्रतिनिधिको हैसियतले गर्न सकिने हरेक कार्यमा म समर्पित भएँ । तर यी सबै कामहरूको पछाडि केवल उपलब्धीको सूची छैन–त्यहाँ थकान छ, संघर्ष छ, मौन आँसुहरू छन् र सबैभन्दा महत्वपूर्ण समाजप्रतिको गहिरो प्रतिबद्धता छ ।
आज म फेरि एक नयाँ मोडमा उभिएको छु । विगत मेरो साथमा छ, तर भविष्य अझै अनजान छ । मेरोभित्र एउटा प्रश्न अझै गुन्जिरहन्छ—के मैले जे गरें, त्यो पर्याप्त थियो ? वा जीवनले मलाई अझै केही भन्न खोजिरहेको छ ? सायद यही प्रश्न नै मेरो नयाँ यात्राको सुरुवात हो ।
म अब विगतलाई केबल सम्झनाको रूपमा राख्न चाहन्नँ । म त्यसलाई आधार बनाएर अझ अर्थपूर्ण, अझ गहिरो र अझ प्रभावकारी यात्रातर्फ अघि बढ्न चाहन्छु । किनकि मैले सिकेको छु-जीवन रोकिने नाम होइन, यो त निरन्तर बगिरहने धारा हो ।
म विगतप्रति कृतज्ञ छु, त्यो विगत जसले मलाई बनायो, तोड्यो फेरि उठायो र अझ गहिरो बनायो र म भविष्यप्रति आशावादी छु, त्यो भविष्य जसले अझै धेरै कथा लेख्न बाँकी राखेको छ ।
यदि मेरो आगामी यात्राले कसैको जीवनमा सानो भए पनि उज्यालो ल्याउन सक्छ, कसैको आँखाबाट आँसु पुछ्न सक्छ वा कसैको मनमा आशाको सानो दियो बाल्न सक्छ भने त्यही मेरो जीवनको सबैभन्दा ठूलो अर्थ हुनेछ ।
म हिँडिरहेको छु… बिस्तारै, तर दृढताका साथ ।
आवाजबाट कर्मसम्म, र कर्मबाट पुनः अनुभूतिसम्म ।
त्यो यात्रातर्फ जहाँ जीवन केवल बाँचिँदैन,
त्यो अनुभूत हुन्छ, लेखिन्छ, र अन्ततः अर्काको जीवनमा उज्यालो बन्छ ।
लेखक भण्डारी नेपाल प्रेस युनियन अछामका अध्यक्ष हुन् ।





