टीकापुर, कात्तिक २४
सेती राजमार्गको निर्माणले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी जिल्लाको तराईसँगको दूरी घट्ने देखिन्छ ।
हाल कैलालीको अत्तरीयाबाट डडेल्धुरा, डोटी हुँदै यात्रा गर्दै आईरहेका अछाम, बाजुरा र बझाङका जनतालाई सेती राजमार्ग निकै छोटो हुनेछ । यस राजमार्गले कर्णालीका दैलेख, कालिकोट, जुम्ला, मुगु र हुम्लाका जनताको समेत सडक यात्रालाई घटाउने देखिन्छ ।
कैलालीको अत्तरीयादेखी बाजुरा सदरमुकाम मार्तडीसम्मको दूरी ३१८ किलोमिटर रहेको छ । यस राजमार्गको निर्माणले मार्तडीसम्मको दूरी निकै कम हुनेछ । सेती राजमार्गको दक्षिणतर्फको केन्द्रविन्दु रहेको कैलालीको टीकापुरदेखी मार्तडीको दूरी २५२ किलोमिटरमा सिमित हुनेछ । टीकापुरदेखी मार्तडी जाने व्यक्तिले टीकापुर–अत्तरीयासम्म थप ७७ किलोमिटर यात्रा गर्नुपर्छ ।
अत्तरीयादेखी बझाङ सदरमुकाम चैनपुरसम्मको दूरी २५७ किलोमिटर छ । यस राजमार्गले टीकापुरदेखी चैनपुरसम्मको दूरीलाई २४० किलोमिटरमा समेट्ने छ । यसमा समेत टीकापुर–अत्तरीयाको ७७ किलोमिटरलाई जोड्ने हो भने सेती राजमार्ग निर्माण पश्चात टीकापुर–चैनपुरको दूरी निक्कै घट्ने देखिन्छ ।
यस राजमार्गले सबैभन्दा धेरै लाभ कैलालीको टीकापुर र अछामका जनतालाई दिनेछ । टीकापुर र आसपासका क्षेत्रमा धेरैजसो अछामबाट बसाई सरेर आएका व्यक्तिहरुको बसोबास रहेको छ । उनीहरुले हाल टीकापुरदेखी अछामको सदरमुकाम मंगलसेनसम्म ३६९ किलोमिटर यात्रा गर्नुपर्ने वाध्यता रहेको छ ।
यस राजमार्गको निर्माण पश्चात टीकापुर–मंगलसेनको दूरी झण्डै २१० किलोमिटरमा सिमित हुनेछ । सदरमुकाम मंगलसेन जानलाई बुढीगंगा र कैलाशखोलाको दोभानबाट सडक निर्माण भैसकेकाले साँफेबगर पुग्न नपर्ने भएपछि सडक यात्रा झन छोटो हुने देखिन्छ ।
‘हामीले त एकदिनमै सहजै ओहोरदोहोर गर्न सक्नेछौ’ अछामको बस्तीबाट बसाई सरेर आएका टीकापुरका स्थानीय रुपकबहादुर बिष्टले भने–‘घुमाउरो सडक यात्राको अन्त्य हुने पर्खाईमा छुँ ।’
डोटीको पूर्वी भेगका जनताका लागि समेत सेती राजमार्ग निकै लाभदायक हुनेछ । उनीहरुले समेत अहिले डडेल्धुरा हुँदै दिपायल पुग्नुपर्ने वाध्यता छ । यो राजमार्ग डोटीको पूर्वी भेग हुँदै अछाम जाने भएकाले यसको प्रत्यक्ष लाभ त्यहाँका बासिन्दालाई हुनेछ । डोटीमा मात्रै यस राजमार्गले ४० किलोमिटर भूभाग ओगट्नेछ । जसमध्ये ६ किलोमिटरमा ट्रयाक खोलिसकेको छ भने बाँकी काम भैरहेको छ ।
कर्णालीका दैलेख, कालिकोट, जुम्ला, मुगु र हुम्लाका जनता अहिले सुर्खेत हुँदै कोहलपुरसम्मको सडक यात्रा गर्दै आएका छन । उनीहरुले दैलेखको राकमबाट अछामको विनायक–मंगलसेनहुँदै बुढीगंगा र कैलाशखोलाको दोभानबाट यस राजमार्गमा जोडिन सक्नेछन ।
‘यो उनीहरुका लागि समेत तराई जोडिने छोटो मार्ग हुनेछ’ राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. प्रेम कुँवरले भने–‘सेती राजमार्ग सुदूरपश्चिम र कर्णालीका जनताको लाईफ लाइन हो ।’
यो राजमार्गले सुदूरपश्चिम र कर्णालीका जनतालाई तराईसँग जोड्न छोटो दूरी बनाउने मात्रै छैन यसले भारतीय तिर्थयात्रीहरुलाई स्थलमार्ग हुँदै छोटो दूरीमा कैलाश मानसरोवरको यात्रा गराउनेछ । हाल वर्षेनी हजारौंको संख्यामा भारतीय तिर्थयात्रीहरु कैलाश मानसरोवर दर्शनका लागि जाने गर्छन । उनीहरुलाई भारतीय सरकारले लगानी गरेर कैलाश मानसरोवर पठाउने गरेको छ ।
उनीहरु मध्ये कतिपय हवाई यात्रा गरेर त्यहाँ जान्छन भने कतिपय स्थलमार्गको लामो यात्रा गरेर जान वाध्य छन । यो राजमार्ग स्थलमार्ग हुँदै जाने भारतीय तिर्थयात्रीका लागि निकै छोटो हुनेछ ।
राजमार्गको दक्षिण केन्द्रिविन्दु रहेको टीकापुरदेखी उत्तर केन्द्रविन्दु रहेको बझाङको ताक्लाकोटसम्मको दूरी ३५९ किलोमिटर रहेको छ । टीकापुरदेखी नेपाल–भारत सिमा क्षेत्रको दूरी १५ किलोमिटर मात्रै छ ।
यो राजमार्ग कैलाश मानसरोवर दर्शनका लागि जाने भारतीय तिर्थयात्रीका लागि निकै महत्वपूर्ण रहेको छ । कैलाश मानसरोवर तिर्थयात्रीले त्यहाँ जानु पूर्व भारतको उत्तर प्रदेशस्थित नैमीशारण्यममा पूजाआजा गर्नुपर्ने मान्यता छ । जुन टीकापुरबाट नजिकै पर्छ ।
परापूर्वकालमा भारतीय तिर्थयात्रीहरु नैमीशारण्यमबाट कैलालीको सत्तीस्थित शिवालयमा समेत पूजाआजा गर्न आउने गरेको बताईन्छ । उनीहरु सत्तीस्थित शिवालयमा पूजाआजा गरेपछि कर्णाली नदीको किनार हुँदै पैदल यात्रा गरेर कैलाश मानसरोवर जाने गरेको इतिहास रहेको सत्तीस्थित शिवालय व्यवस्थापन समितिका अध्यक्ष विदुरलाल कायस्थले जानकारी दिएका छन । ‘बुढापाकाले यस्तो कुरा बताउने गर्छन’ उनले भने–‘केही व्यक्तिहरु अहिले पनि आएको देख्दा हो भन्ने लाग्छ ।’
उनका अनुसार केही भारतीय तिर्थयात्रीहरु अहिले पनि कैलाश मानसरोवरबाट फर्केर शिवालयमा दर्शन गर्न आउने गरेका छन । तर, यो संख्या ज्यादै न्यून रहेको छ ।
राजमार्ग निर्माण सुरु भएको १६ वर्षमा कुल ३५९ मध्ये हालसम्म २१२ किलोमिटरमा मात्रै ट्रयाक खोलिएको छ । राजमार्ग निर्माणको कामलाई दुई भागमा विभाजन गरिएको छ ।
कैलाली, डोटी, अछाम र बाजुरा जिल्ला हेर्ने गरी सेती राजमार्ग (दक्षिण खण्ड) र बझाङ हेर्ने गरी सेती राजमार्ग (उत्तर खण्ड) नामाकरण गरिएको छ । दक्षिण खण्ड हेर्न अछामको साँफेबगर र उत्तर खण्ड हेर्न बझाङको चैनपुरमा योजना कार्यालय राखिएका छन । दक्षिण तर्फको २०४ मध्ये १३६ किलोमिटर र उत्तर तर्फको १५५ मध्ये ७६ किलोमिटरमा ट्रयाक खुलेको छ ।



