टीकापुर, मंसिर १९
कैलाली र बर्दिया जोड्ने कर्णाली नदीस्थित सनकट्टीघाटमा पुल निर्माणको काम तिब्र गतिमा भैरहेको छ । हालसम्म पुल निर्माणको ६६ प्रतिशत काम सकिएको छ ।
निर्माण कम्पनी रसुवा कन्ट्रक्सनका साइड ईञ्चार्ज कृष्ण ढुंगेलले वर्षायाम अगावै पुल निर्माणको काम सक्ने गरी काम भैरहेको बताए । ‘हाम्रो लक्ष्य वर्षायाम अघि नै सक्ने भन्ने छ’ उनले भने–‘हेरौं परिस्थिति कस्तो हुन्छ ।’
नेपाल सरकारको १ अर्ब १८ करोड रुपैयाँको लागतमा पुल निर्माण भैरहेको छ । वि.सं. २०७९ पौष १७ गते ठेक्का सम्झौता भएको पुल निर्माणको काम भने २०८१ बैशाख २ गतेबाट सुरु भएको हो । सम्झौता अनुसार सुरुको एकवर्ष भित्र सर्भे गरी पुल निर्माणको काम चार वर्ष भित्र सक्नुपर्नेछ ।
७ शय ५० मिटर लम्बाई रहेको पुलमा १४ वटा पिल्लर रहेका छन । ती सबै पिल्लर निर्माण भैसकेका छन । पुलको १३ वटा मध्ये पुर्वतर्फको ४ वटा स्पान समेत निर्माण सम्पन्न भैसकेको साइड ईञ्चार्ज ढुंगेलले जानकारी दिए । उनका अनुसार २ वटा स्पान निर्माणको काम भैरहेको छ । पुलको चौडाई साढे ७ मिटर रहेको छ । दुबैतर्फ यात्रुका लागि फुटपाथ रहने बताईएको छ ।
सरकारले समयमा भुक्तानी नदिएका कारण केही समय पुल निर्माणको काम प्रभावित बनेको थियो । सरकारले झण्डै १३ करोड रुपैयाँ भुक्तानी रोकेको थियो । तर अहिले भुक्तानीको समस्या नरहेको साईड ईञ्चार्ज ढुंगेलले बताए । ‘अहिले विगतको जस्तो भुक्तानीको समस्या छैन’ उनले भने–‘केही अरु समस्या छन । तिनको समाधान गर्दै अघि बढिरहेका छौं ।’
कैलालीको पूर्वी क्षेत्र टीकापुरबाट बर्दियाको गेरुवा गाउँपालिका जानका लागि सनकट्टीघाटमा पुल नहुँदा स्थानीयहरु जोखिमपूर्ण डुंगामा वारपार गर्ने गरेका छन् । डुंगा दुर्घटना हुँदा कैयौंले अकालमा ज्यान गुमाउनु परेको छ । केही वर्ष अघि सनकट्टीघाटमा डुंगा दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए ।
टीकापुरका कतिपय मानिसहरुका खेतबारी बर्दियाको गेरुवा गाउँपालिकामा छन् । कतिपय व्यापारीहरु टीकापुरबाट बर्दिया र बर्दियाबाट टीकापुरसम्म व्यवसाय गर्दै आइरहेका छन् । स्थानीयका अनुसार पुल निर्माणपछि पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज र टीकापुर पार्क आउजाउमा सहजता हुनेछ । जसले गर्दा कृषि र पर्यटन विकासमा समेत टेवा पुग्नेछ ।
बर्दियाको पश्चिमी क्षेत्रका लागि मुख्य बजारको रुपमा रहेको टीकापुर क्षेत्रमा दैनिक आउजाउ गर्न, व्यापार व्यवसाय गर्न र चिसापानीस्थित कर्णालीको पुल र हुलाकी राजमार्गको सत्ती घाटको पुलको विकल्पको रुपमा सनकट्टीमा निर्माण हुने पुललाई लिइएको छ ।
यो पुल निर्माण भएसँगै कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा तीन वटा पुल हुनेछन् । २०५० सालमा सुदूरपश्चिमको प्रवेशद्वारका रुपमा कर्णाली चिसापानीमा निर्माण भएको पुल र २०७३ सालमा टीकापुर र राजापुर नगरपालिकालाई जोड्ने कर्णाली नदीकै सत्तीघाटमा पुल सञ्चालनमा छन । सत्तीघाटमा बनेको पुल समेत रसुवा निर्माण कम्पनीले नै निर्धारित समय भन्दा १० महिना अगावै सम्पन्न गरेको थियो ।




