टीकापुर, भदौ ३०
रामारोशन विकास केन्द्रको आयोजनामा टीकापुरमा असोज १ गते घाँसे संक्रान्ति मनाउने भएको छ ।
अछामको रामारोशन गाउँपालिकाबाट बसाइसराई गरी आएर कैलालीमा बसोबास गर्दै आएकाहरुको संस्था रामारोशन विकास केन्द्रले विविध सांस्कृतिक कार्यक्रमसहित घाँसे संक्रान्ति मनाउने भएको हो ।
संस्थाका अध्यक्ष दिनेशकुमार शाहका अनुसार टीकापुरको खुल्ला मैदानमा आयोजना हुने घाँसे संक्रान्तिको तयारी तिब्र पारिएको छ । आज एक कार्यक्रमका बीच मैदानको सरसफाई गरिएको छ । ‘संस्थाको साधारण सभा समेत सोही दिन हुनेछ’ अध्यक्ष शाहले भने ‘सुदूरपश्चिमको चर्चित देउडा खेल, न्याउल्या खेलको आयोजना गरिएको छ ।’
अध्यक्ष शाहका अनुसार हाम्रा विविध सांस्कृतिक संस्कृति, मौलिकता, कलाहरुको संरक्षण र जगेर्ना गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री कमलबहादुर शाह, पूर्व मन्त्री राजेन्द्र साउँद लगायतको उपस्थिति रहने जनाइएको छ ।
शाहका अनुसार घाँसे मेलामा विहान गाईलाई घाँस खुवाएर दिउँसो पञ्चेबाजा, भुवो, देउडा खेलको आयोजना गरिएको छ ।





