Hamro Patra
‘१२ गाउँ २’ को ‘जुनेली’ मा सियोन श्रेष्ठको कोरियोग्राफी

टीकापुर, असोज १
समिर भट्ट अभिनित बहुप्रतीक्षित नेपाली चलचित्र ‘१२ गाउँ २’ को ‘जुनेली’ बोलको गीत सार्वजनिक भएको छ । गीत सार्वजनिक भएसँगै यसको कोरियोग्राफर सियोन श्रेष्ठ तथा नायक समिर भट्टको नृत्यको चर्चा शुरु भएको छ । 

‘जुनेली’ गीतको कोरियोग्राफी सुदूरपश्चिम प्रदेश, कैलालीका सियोन श्रेष्ठले गरेका हुन् । गीतमा नायक समिर भट्टले प्रस्तुत गरेको नृत्य र कोरियोग्राफीको शैलीले दर्शक तथा चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको ध्यान आकर्षित गरेको छ ।

टीकापुरस्थित द क्राउन एण्ड जुम्बा सेन्टरका सञ्चालक तथा कोरियोग्राफर अर्जुन विश्वकर्माले लामो समयपछि नेपाली चलचित्रमा यो स्तरको कोरियोग्राफी देख्न पाउनु र नायकले त्यसलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्नु खुसीको कुरा भएको बताएका छन् । विश्वकर्माले नेपाली चलचित्रमा अब नयाँपनसहित राम्रा र सिर्जनशील कोरियोग्राफरले काम गर्ने वातावरण बन्ने आशा व्यक्त गरे । उनका अनुसार ‘जुनेली’ गीतले नेपाली चलचित्रको नृत्य प्रस्तुतिमा नयाँ सम्भावनाको संकेत गरेको छ ।

गीतमा लोकप्रिय गायक सुगम पोखरेलको स्वर रहेको छ । चलचित्र ‘१२ गाउँ २’ अभिनेता विराज भट्टको आफ्नै ब्यानरमा निर्माण भएको हो । नेपाली चलचित्र क्षेत्रमा एक्सन नायकका रूपमा लोकप्रिय विराज भट्टका छोरा समिर भट्टले ‘१२ गाउँ’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् ।

यसअघि प्रदर्शनमा आएको ‘१२ गाउँ’ चलचित्र तथा नायक समिर भट्टको अभिनय र एक्सनलाई दर्शकले रुचाएका थिए। चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि ‘१२ गाउँ २’ लाई पनि दर्शकमाझ प्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ ।

‘जुनेली’ गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा चलचित्रप्रेमीमाझ गीतको कोरियोग्राफी, समिर भट्टको नृत्य तथा गीतको प्रस्तुतिबारे चर्चा भइरहेको छ । ‘१२ गाउँ २’ असोज ३० गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update