Hamro Patra
गायक गणेश साउँदको ‘झल्का मात्र लाइगई’

टीकापुर, भदौ २९
अछामको बान्नीगढी जगयढ गाउँपालिका वडा नं. २ सल्लेनाका गणेशबहादुर साउँद २०५८ साल फागुन ४ गते काठमाडौंमा भलिबल खेलिरहेका थिए । दुई पटक जुनियर र एकपटक सिनियर टिमबाट राष्ट्रिय प्रतियोगिता खेलेका उनी बायाँ हाते ब्याक स्पाइकर थिए । कम उमेरमै राष्ट्रिय प्रतियोगिता खेलेका उनको भविष्यमा भलिबलमा सुनौलो थियो । 

सोही सात तत्कालीन नेकपा माओवादीले अछामको सदरमुकाम मंगलसेन र मुख्य व्यापारिक केन्द्र साँफेबगरमा भिषण आक्रमण गर्यो । घटनामा परी सयौंको संख्यामा प्रहरी, सुरक्षाकर्मी, नेपाल आर्मी, राष्ट्रसेवक कर्मचारीको ज्यान गयो । केही दिनपछि अछाम पुगेका साउँदले मंगलसेनमा माओवादी आक्रमणबाट उडिरहेको धुवाँ देखे । 

सदरमुकाममै भएको आक्रमणबाट सिडिओ समेतको ज्यान गएपछि साउँदले भलिबलको माया मार्दै आफ्‌ना छिमेकीसँग कामको खोजीमा भारत पसे । ‘ज्यान जोगाउनै गाह्रो थियो, भलिबल खेल्ने कुरा त सपना नै भयो’ साउँदले भने ‘छिमेकीसँगै म पनि भारतमा चौकीदारी गर्न लागे ।’

झण्डै छ महिना चौकीदारी गरे । कक्षा ६ मा पढ्दा बुबाले घरमा ल्याइदिएको मादल र बासुँरीमा गीत गाउने उनले भारतमा नेपालीले भोगेको दुःख देखे । यही दुःखलाई समेट्दै गीत लेखेका उनले २०५८ सालमै ‘बगन्या आँशु’ क्यासेट एल्बम निकाले । 

छोराछोरी एक्लै छाडी, जनजाए माइत !
नछोड मैना बगन्याँ आँशु, परदेश जाने साइत !!

यो गीतले खुबै चर्चा पायो । देउडामा गीतमा आएको बगन्या आँशु नै साउँदको पहिलो एल्बम बन्यो । भारतमा चौकीदारी गर्दा भएको एक घटनालाई उनले गीतमा बुनें । 

देश डुल्नुछ, भिक माग्नुछ, जीवनभरि धामा !
तिर्नुछ दुधको भारा, कठै मेरी आमा !! 

यो गीत अधिकांश घरमा बज्यो । भारत जाने प्रत्येक घरको कथा साउँदले गीतमा उल्लेख गरेका थिए । ‘सांगीतिक यात्राको पहिलो एल्बमले नै मलाई स्थापित गर्यो, गीत निकै चल्यो’ साउँदले भने ‘यो मैले भोगेको वास्तविक घटनामा आधारित भए पनि हरेक भारत जाने सुदूरपश्चिमेलीको पीडा थियो ।’

देश द्वन्द्वको चर्को उत्कर्षमा रहेका बेला २०६० मा उनले ‘अशान्तिका आँशु’ एल्बम ल्याए । २०६४ मा ‘सुन होइकी पित्तल’, २०६७ मा ‘यसाई दिन बाइगया’, २०७० मा ‘सम्झनाको नासो’ भिडियो एल्बम, २०७१ मा लोकपप ‘यो त मालै रहेछ’ बजारमा ल्याएका साउँदले २०७७ मा देउडा दोहोरी ‘मनको धनी’ बजारमा ल्याए ।

‘छम्म बजा ताली, छमकछमक देउडा खेलौं हामी भिना साली’ र ‘सरर सिरु पात सर्काइदे, हातकी रुमाल फर्काइदे’ साउँदका देउडा दोहोरी निकै चर्चामा रहे । २०७१ सालमा साउँदले लोकपप लयमा व्यंग्य गीत बजारमा ल्याए । युवा पुस्ता कुलतमा फसिरहेको विषयलाई साउँदले आफ्‌नो गीतमा समावेश गरे ।  
बाउ आमाले दूध पिउ भन्छन्, जिउमा तागत लाग्ने
छोरा भन्छ, चाहियो मलाई, पिउँदा पिउँदै लाग्ने
चरेस, गाँजा, रक्सी पिउँदै हाल बेहाल भएछ, 
साना ठूला सबै भन्छन्, यो त माल रहेछ, यो त मालै रहेछ ।

पूरानो एल्बममा समावेश गीतलाई रिमेक गरेर साउँदले केही दिन अघि मात्रै ‘झल्का मात्रै लाइगई’ गीत बजारमा ल्याए । ‘झल्का मात्रै लाइगई’ले समाजिक सञ्जाल फेसबुक, टिकटक, रिल्समा राम्रो स्थान बनाइरहेको छ । उक्त गीतमा भिडियो बनाउने क्रम बढ्दो छ । 

सुरुको एल्बमको बिक्रीबाट हौंसिएका उनका अरु गीतले त्यति बजार तताउन सकेनन् । देउडा भन्दा बढी दोहोरी गीत चल्न थाले । २०६३ मा धनगढीमा दिनेश एफ.एम. सञ्चालन भएपछि उनी आरजे बने । हप्तामा सातै दिन कार्यक्रम सञ्चालन गर्दै आएका साउँदले दुई वर्ष आरजे बनेर काम गरे । सञ्चारकर्मबाट जीविकोपार्जन हुने नदेखेपछि उनी बिमा अभिकर्ता बने । एसियन लाइफ इन्स्युरेन्सको बजार प्रतिनिधिबाट काम गरेका उनी यतिबेला कम्पनीको सुदूरपश्चिम प्रदेश प्रमुख छन् । ‘जीविकोपार्जनका लागि अन्य पेशा गरिरहेको भए पनि गीत संगीतप्रतिको लगाव मेटिएको छैन’ साउँदले भने ‘गीत संगीतलाई मैले जीवनशैली मानेको छु ।’

टीकापुर जेसिज वर्ष २०२० का अध्यक्ष, लायन्स क्लब अफ टीकापुर २०२३ का अध्यक्ष, टीकापुरस्थित जनकल्याण सहकारी संस्थाधका संस्थापक अध्यक्ष, खप्तड साँस्कृतिक परिवारका निवर्तमान अध्यक्ष तथा टीकापुरस्थित गणेशबाबा बोर्डिङ स्कुलका अध्यक्ष छन् । नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष समेत भएका साउँद गायन, बिमाका अतिरिक्त सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । 

बिमा व्यवसायमा व्यस्त रहँदै आएका साउँदले देउडा गीत भने छोडेनन् । देउडा संस्कृतिको संरक्षणका लागि गीतलाई निरन्तरता दिँदै आएका साउँद गीत संगीतलाई जीवन जिउने माध्यमका रुपमा लिन्छन् । ‘मेरो लागि गीत संगीत जीवन जिउन कला हो, संर्घषका सुखदुःख, जीवनका भोगाई हाम्रा देउडा गीतमा समावेश छन्‌’ साउँदले भने ‘वर्तमानको भोगाईलाई भावी सन्ततीसम्म पुर्याउनका लागि पनि मैले गीतसंगीत छोडेको छैन ।’

देउडा गीतको माध्यमबाट पुर्याएको योगदानका लागि सुदूरपश्चिम महोत्सव, डल्फिन महोत्सव, टीकापुर महोत्सव, खप्तड सांस्कृतिक परिवारबाट पटक पटक सम्मानित भएका उनी कला संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न गीत संगीतलाई जीवनशैली बनाउँदै आएका छन् ।  

साउँदले देउडा गीतका माध्यमबाट सुदूरपश्चिमको परम्परा, भोगाई, वास्तविक भोगाई, बेदना समेट्दै आएका छन् । गीत संगीतका माध्यमबाट भावी पुस्तालाई देउडा संस्कृति हस्तान्तरण गर्न पनि देउडा गीतलाई निरन्तरता दिँदै आएको उनको भनाई छ ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update