बर्दिया, कात्तिक १७
बर्दियामा प्रहरीले सोमबार एकैदिन ६ जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । बढैयाताल गाउँपालिकाका चार र बारबर्दिया नगरपालिकाका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार बढैयाताल गाउँपालिका वडा नं. ८ कण्ठपुरबाट चार र बारबर्दिया नगरपालिका वडा नं. ६ जयनगरबाट दुई जना पक्राउ परेका हुन् । उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ, मोबाइल र नगद बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहोराका अनुसार बढैयाताल गाउँपालिका वडा नं. ८ कण्ठपुरका २३ वर्षीय जस्टिम सिंहको साथबाट १ ग्राम ४० मिलिग्राम लागुऔषध, पाँच थान इन्फिनिक्स मोबाइल र ५ हजार ६ सय ५० रुपैयाँ बरामद भएको छ ।
त्यस्तै, बढैयाताल गाउँपालिका वडा नं. ५ जगतियाका २२ वर्षीय आशिष थारु र बाँसगढी नगरपालिका वडा नं. ५ हस्नापुरका २४ वर्षीय आकाश थारुको साथबाट ६ सय ६० मिलिग्राम खैरो हिरोइन र तीन थान मोबाइल बरामद भएको डीएसपी बोहोराले बताए ।
बढैयाताल गाउँपालिका वडा नं. ६ रानीपुरबाट बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ बी गाउँका २७ वर्षीय मनबहादुर थापा र सोही ठाउँका २७ वर्षीय प्रवीण गुरुङ पक्राउ परेका छन् । उनीहरूको साथबाट ३ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, बारबर्दिया नगरपालिका वडा नं. ७ सिउनियाका २९ वर्षीय दिलीप रावतको साथबाट ६० मिलिग्राम लागुऔषध र २१ हजार २ सय ७५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनामाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी बोहोराले बताए ।





