टीकापुर, कात्तिक १६
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापाले टीकापुर अस्पतालको आकस्मिक अनुगमन गरेकी छन् । केही दिनअघि अस्पतालको दन्त सेवा विभाग र प्रयोगशाला विभागमा म्याद गुज्रिएका औषधी तथा रिएजेण्टहरु प्रयोग भएको पाइएपछि मन्त्री थापाले आज अस्पतालको आकस्मिक अनुगमन गरेकी हुन् ।
अनुगमनका क्रममा अस्पतालमा सरसफाईमा कमजोरी, कर्मचारीबीचको आपसी समन्वय र व्यवस्थापकीय कमजोरीहरु रहेको मन्त्री थापाले बताइन् । अस्पताल प्रशासनको कार्यकक्षमा भएको छलफलका क्रममा मन्त्री थापाले अस्पताल व्यवस्थापन समितिको ध्यानाकर्षण गराइएकी हुन् ।
‘व्यवस्थापन समितिका पनि आफ्ना काम, कर्तव्यहरु छन्, सरसफाईका कुराहरु पनि अनुगमन गर्दा त्यस्तै पाइयो, यो सफा गरेपछि हुने कुरा हो नि, त्यसको लागि पनि दरबन्दी राखिएको छ, उहाँहरुलाई परिचालन गराउनुहोस्’ मन्त्री थापाले भनिन् ‘डाक्टर र प्राविधिकहरुलाई सेवाका लागि धेरै धेरै धन्यवाद, अत्यन्तै गाह्रो परिस्थिति रहेको छ, जनशक्तिको अभाव छ कि, अथवा उपकरणको समस्या भएर हो कि ? अहिले जनगुनासो धेरै सुनिएको छ ।’
मन्त्री थापाले सबै जनगुनासो तत्काल समाधान गर्न नसकिए पनि अस्पतालले अप्रेसन लगायत गर्न सक्ने कुरा समेत यहाँ नगरेकोमा गुनासो व्यक्त गरिन् । ‘सबै समस्या समाधान तत्काल नहोला, तर यहाँ सकिने खालका अप्रेसनहरु समेत यहाँ नगरेको पाइयो, प्राइभेट हस्पिटलमा रेफर गरेको पाइयो, यो बारे धेरै कुराहरु आएका छन्’ मन्त्री थापाले भनिन् ‘यो बारेमा पनि हामीले बुझ्नुपर्ने देखिएको छ, यसमा तपाईंहरुलाई मात्रै दोष दिन खोजेका होइनौं, तर जुन जिम्मेवारी तपाईंहरुले बहन गरिरहनु भएको छ, त्यो जिम्मेवारीलाई अत्यन्तै महत्वका साथ बहन गर्नुहोला ।’
अस्पतालका सबै विभागमा कार्यरत डाक्टर, नर्सहरुको उपस्थितिमा मन्त्री थापाले अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रेमकुमार राईलाई यसबारे थप सोधपुछ गरिने बताइन् । उनले जिम्मेवार ठाउँमा बसेर कुनै पनि बाहनामा झार टार्न नमिल्ने जिकिर गरिन् । ‘अस्पतालमा कार्यरत डाक्टर, कर्मचारीहरुलाई छलफलबारे जानकारी नदिएको हो कि ? आउन नचाहेका हुन् कि ? जिम्मेवार ठाउँमा बसेर पन्छिन मिल्दैन, यो बारेमा अस्पताल व्यवस्थापनलाई जवाफ दिनुपर्छ’ मन्त्री थापाले भनिन् ‘स्वास्थ्य क्षेत्र यति संवेदनशील क्षेत्र हो, यो पहुँचको भरमा, शक्तिको भरमा वा राजनीतिक दबावको भरमा गर्ने, त्यो तरिकाले हुन सक्दैन, किनभने राजनीतिक आफ्नो ठाउँमा हुन्छ, सेवा आफ्नो ठाउँमा हुन्छ ।’
छलफलमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर भण्डारीले अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट विदामा गएको भए पनि म्याद गुज्रिएको घटना सम्बन्धी स्पष्टीकरण सोधिएकाले सोको प्रतिवेदन मन्त्रालयमा बुझाउने बताए ।
‘सो घटनाको स्पष्टीकरण सोधिएको छ, प्रतिवेदन आएपछि मन्त्रालयमा बुझाउने नै छौं’ अध्यक्ष भण्डारीले भने ‘अस्पतालको भौतिक संरचनासँगै कर्मचारी व्यवस्थापन को समस्या जटिल बन्दै गएको व्यवस्थापन समितिले महसुस गरेको छ । हामीलाई धेरै कठिनाई छ, यसमा मन्त्रालयले छिटो भन्दा छिटो नीति नियम बनाउनु पर्ने, केही काम गर्नुपर्ने देखिएको छ ।’





