Hamro Patra
बोनम्यारो प्रत्यारोपणपछि क्यान्सर जितेर डाक्टर बनेका टीकापुरका विधान

काठमाडौं, कात्तिक १७

‘म पनि यसरी नै बिरामीको उपचार गर्ने हो ।’ १० वर्षअघि विधान भट्टले भनेका थिए। त्यतिबेला उनी निजामती कर्मचारी (सिभिल) अस्पतालमा शय्यामा किमोथेरापी लिइरहेका थिए। 

विधान मात्र १५ वर्षका थिए। कक्षा १० मा पढ्दै थिए। २०७३ सालमा उनलाई रक्त क्यान्सर भएको पुष्टि भएको थियो। परीक्षामा उत्कृष्ट नतिजा ल्याउन पढाइमा तल्लीन थिए। तर उनलाई शरीरले भने साथ दिन छोडेको थियो। विधानलाई वान्ता हुने, शरीर शिथिल हुने, थकाइ लाग्ने समस्या देखिन थाल्यो। 

टीकापुर, कैलाली घर भएका उनलाई उपचारका लागि नेपालगन्ज ल्याइयो। त्यहाँबाट उनलाई काठमाडौँ जान भनियो। विधान ललितपुरस्थित अल्का अस्पताल गए। परीक्षण गर्दा उनलाई रगतको क्यान्सर (लिम्फोमा) देखियो।

रोग पहिचानपछि विधान सिभिल अस्पताल पुगे। त्यहाँ उनको किमोथेरापी सुरु भयो। सो समय सिभिल अस्पतालले बोनम्यारो प्रत्यारोपणको तयारी गरिएको थियो। उपचारमा हेमाटोलोजी पढेर आएका डा विशेष पौडेलसहितको टोली खटिएको थियो।

विधानको किमोथेरापी सुरु भयो। अस्पतालले विधानबाट नै बोनम्यारो निकालेर प्रत्यारोपण सुरु गर्ने योजना बनायो। विधान भने उपचारकै क्रममा एसएलसी परीक्षाको तयारीमा जुटे। अस्पतालको शय्यामै पढेर बस्थे। किमोथेरापी गराउँदै विधानले एसएलसी परीक्षा दिए। राम्रो नम्बर ल्याएर उत्तीर्ण पनि भए।

विधानलाई थप पढ्नु थियो। उनी ब्रिज कोर्ससमेत पढ्न जान्थे। ‘कक्षा ११ मा विज्ञान सङ्काय लिएर पढ्नु थियो। मलाई त डाक्टर बन्नु थियो। किमो लिएर ब्रिज कोर्स पढ्न जान्थेँ,’ विधानले सुनाए।

कक्षा ११ मा विज्ञान सङ्काय लिएर पढ्न भर्ना भए। सोही समय उनको बोनम्यारो प्रत्यारोपण गर्ने तयारी गरियो। विधानलाई आफ्नै शरीरको बोनम्यारो निकालेर प्रत्यारोपण गरियो। जसका कारण उनी कक्षा ११ मा कलेज जान पाएनन्। ९ महिनासम्म कलेज नेटेके पनि उनले उत्कृष्ट नतिजा ल्याए।

‘बिरामी भएँ, अब केही गर्न सक्दिनँ होला भन्ने मलाई कहिल्यै लागेन। रोग लागेको छ। निको हुन्छ। पढ्छु, डाक्टर बन्छु भन्ने मात्र लाग्थ्यो,’ विधानले भने, ‘अस्पताल बसिरहँदा कहिले कलेज जान पाउँछु होला भन्ने मात्र लाग्थ्यो। अहिले सम्झिँदा हाँसो उठ्छ।’

उनलाई त्यो समयमा आफू बिरामी भएको महसुस नभएको बताउँछन्। उनको उपचार एक वर्ष चल्यो।

क्यान्सरसँग जुध्दै १२ कक्षा उत्तीर्ण गरेका विधान अहिले डाक्टर बनेका छन्। उनले नेपालगन्ज मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेका छन्। अहिले २५ वर्ष उमेरका उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरका रुपमा कार्यरत छन्। उनका दाइदिदी पनि चिकित्सक छन्। जसले उनलाई चिकित्सा पेसाप्रति मोह बढाउँदै लगेको विधान बताउँछन्।

‘मेरो परिवारमा धेरै जना डाक्टर हुनुहुन्छ। दाइ र दिदी पनि डाक्टर बन्नुभयो। उहाँहरूले पढेको देखेर मलाई पनि डाक्टर बन्छु भन्ने थियो। १५ वर्षकै उमेरमा बिरामी परेँ। तर सानै उमेर भएर होला मलाई त्यसले कुनै असर गरेन’ विधान भन्छन्, ‘अस्पतालको शय्यामा रहँदा डाक्टरहरू आएर मेरो उपचार गर्दा म पनि यसरी नै बिरामीको उपचार गर्छु भन्ने लाग्थ्यो।’

विधान आफू निको भएर घर फर्किनेमा ढुक्क थिए। 

‘बाँचिन्छ भन्ने नै थियो। मरिन्छ भन्ने थिएन। रोग लागेको छ, म बाँच्छु भन्ने लागेको थियो। दुई वटा मास्क लगाएर कलेज जान्थेँ। किमोले आँखीभौँ, परेलाका रौँ झरेको थियो। तर कहिल्यै नराम्रो लागेन,’ उनी भन्छन्, ‘कलेज जान नपाउँदा प्रत्यारोपण सेन्टरमा फिजिक्स र केमेस्ट्रीको किताब लगेर पढ्थेँ। कक्षा ११ मा पहिलो भएँ। बिरामी भएँ, अब जीवन सकिन्छ। केही गर्न सक्दिनँ होला भन्ने कहिल्यै लागेन।’

एमबीबीएस उत्तीर्ण गरेका विधानलाई अब एमडीमा मेडिसिन पढ्न मन छ। उनकै प्रत्यारोपणबाट १० वर्षअघि सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण सुरु भएको थियो। 

आफ्नै शरीरबाट बोनम्यारो निकालेर प्रत्यारोपण

विधानलाई लिम्फोमा भएको थियो। उनलाई आफ्नै शरीरबाट निकाल्न सकिने ‘अटोलोगस’ स्टेम सेल प्रत्यारोपण गरिएको थियो। जसमा चिकित्सकले उनको शरीरको बोनम्यारो निकालेर पुनः आफ्नै शरीरमा प्रत्यारोपण गरेका थिए। 

उनको शरीरबाट किमोथेरापी गर्नुअगाडि नै स्वस्थ बोनम्यारो वा स्टेम सेल झिकेर सुरक्षित राखिएको थियो। त्यसपछि उच्च मात्रामा किमोथेरापी दिएर शरीरका बाँकी क्यान्सर कोषहरू नष्ट गरियो। झिकेर सुरक्षित राखिएको आफ्नै स्वस्थ कोषहरूलाई शरीरमा पुनः प्रत्यारोपण गरिएको थियो। उपचारमा संलग्न चिकित्सक डा विशेष पौडेल बोनम्यारो दुई किसिमले प्रत्यारोपण गर्न सकिने बताउँछन्। 

‘अटोलोगसमा बिरामीको आफ्नै बोनम्यारो झिकेर दिने गरिन्छ। एलोजेनिकको डोनरबाट ५० प्रतिशतसम्म म्याच भयो भने दान गर्न सकिन्छ’ उनले भने, ‘औषधि र किमोथेरापीबाट निको बनाउन नसकिने रोगलाई बोनम्यारो प्रत्यारोपणबाट निको बनाउन सकिन्छ।’

उनले बोनम्यारो प्रत्यारोपणबाट क्यान्सर मात्र नभई अन्य रोग पनि निको बनाउन सकिने बताए। ‘अप्लास्टिक एनिमिया, थालेसिमिया, पीएनएस, बच्चामा हुने विभिन्न किसिमका रक्तअल्पताहरूसमेत प्रत्यारोपण गरेर निको बनाउन सकिन्छ,’ डा पौडेलले भने।

२२३ जनामा प्रत्यारोपण

नेपालमा सन् २०१२ देखि बोनम्यारो प्रत्यारोपण सुरु भएको हो। डा पौडेलले नोबेल अस्पतालबाट प्रत्यारोपण सुरु गरेका थिए। निजी अस्पतालमा सुरु भएको प्रत्यारोपण सन् २०१६ देखि सिभिल अस्पतालमा सुरु भएको हो। डा पौडेलले नै सिभिलमा सुरु गराएका हुन्। हाल सिभिल र जावलाखेलस्थित नेपाल वल्र्ड अस्पतालमा बोनम्यारो प्रत्यारोपण गरिन्छ। नेपालमा हालसम्म २२३ जनाको प्रत्यारोपण भइसकेको छ।

अस्पतालका हेमाटोलोजिस्ट डा पौडेलले १० वर्षमा बोनम्यारो प्रत्यारोपण गर्नेमध्ये ३० प्रतिशत बालबालिका रहेको बताए । ‘३० प्रतिशत बालबालिकाको प्रत्यारोपण गरेका छौँ। ३ वर्षका बालबालिकादेखि ६७ वर्ष उमेर समूहसम्मका बिरामीको बोनम्यारो प्रत्यारोपण भएको छ’ उनले भने।

उनले ७० प्रतिशतमा आफन्त डोनरबाट प्रत्यारोपण गरिएको पनि जानकारी दिए । ‘बोनम्यारो प्रत्यारोपण दुई तरिकाबाट गर्छौ। एउटा आफ्नै शरीरबाट निकालेर गर्छौँ, दोस्रो परिवारको सदस्यसँग म्याच भएपछि निकालेर गर्छौँ। जसमा सिभिल अस्पतालमा ७० प्रतिशत डोनरको सहयोगबाट निकालेर गरेका छौँ’ उनले बताए।

उनी अमेरिकाको युनिभर्सिटी अफ इलिनोइ (यूआईसी) सिकागोमा तालिम लिन चिकित्सकको टोलीसहित गएका थिए। फर्किएर २०७३ साउन ३० गतेदेखि सिभिल अस्पतालमा पहिलोपटक बोनम्यारो प्रत्यारोपण सुरु गरेका थिए।

डा पौडेलका अनुसार उपचार गरिरहँदा पनि शरीरमा रक्त क्यान्सरका कोषिकाहरू कम नभए र रक्तजन्य रोग लागेमा, रगतसम्बन्धी समस्या र क्यान्सर भएकाहरूको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ। ल्युकेमिया, मल्टिपल माइलोमा, लिम्फोमा, अप्लास्टिक एनिमिया, थालेसिमिया र सिकल सेल एनिमियाजस्ता रोगमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्छ।

बोनम्यारो नली हाडभित्र हुने मासी हो। बोनम्यारोले शरीरमा रातो र सेतो रक्तकोष बनाउँछ। रातो रक्तकोषले हेमोग्लोबिन र श्वासप्रश्वासमा मद्दत गर्छ भने सेतो रक्तकोषले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

बोनम्यारो प्रत्यारोपणलाई संसारमै जटिल र महँगो प्रत्यारोपण मानिन्छ। सिभिल अस्पतालले १० देखि १५ लाखसम्ममा प्रत्यारोपण गर्ने गरेको छ। सिभिल अस्पताल बोनम्यारो प्रत्यारोपण हुने नेपालको एक मात्र सरकारी अस्पताल हो।

नेपाल खबर

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update