बाजुरा, कात्तिक १६
बडिमालिका दर्शन गरेर घर फर्किने क्रममा चिसोका कारण मृत्यु भएका कञ्चनपुरको बेदकोट नगरपालिका दैजीका २० वर्षीय मनिष बोहराको शव तीन दिनदेखि उद्धारको पर्खाइमा छ ।
बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका दर्शन गरेर फर्किने क्रममा गत शुक्रबार पाटनमा बोहराको मृत्यु भएको थियो । शनिबार उनको शव फेला परे पनि प्रतिकूल भौगोलिक अवस्थाका कारण अझै उद्धार हुन सकेको छैन ।
शव बोकेर ल्याउन कठिनाई भएकाले हेलिकोप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उद्धारका लागि हेलिकोप्टर आइतबार आउने भनिए पनि अहिलेसम्म आइपुगेको छैन ।
हेलिकोप्टर काठमाडौँबाट सुर्खेत पुगेको र केही समयपछि बोहराको शव उद्धारका लागि बाजुरा आउने जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले बताए ।
समुद्री सतहबाट चार हजार २२० मिटर उचाइमा रहेको बडिमालिकामा कात्तिकदेखि चैतको अन्तिमसम्म हिउँ जम्ने गरेको छ ।





