Hamro Patra
काठको प्रतिबन्द खुलाउन व्यवसायीहरुको माग

धनगढी, कात्तिक १६
कैलालीमा झण्डै पाँच महिनादेखि रोकिएको काठ तथा दाउराको संकलन, बिक्री वितरण र ओसारपसार खुलाउन माग गरिएको छ । लामो समयदेखि प्रतिबन्ध कायम रहँदा वन व्यवसायसँग आश्रित परिवार, उद्योगी, श्रमिक तथा उपभोक्ता प्रभावित भएको भन्दै वन पैदावार व्यवसायीले तत्काल प्रतिबन्ध हटाउन माग गरेका हुन् ।

सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै पर्यावरण संरक्षण एवं वन पैदावार व्यवसायी संघ कैलालीले प्रदेश सरकारले लगाएको प्रतिबन्धका कारण वन पैदावार व्यवसाय संकटमा परेको जनाएको छ । संघले पाँच महिनादेखि काठ तथा दाउराको कारोबार पूर्ण रूपमा बन्द हुँदा व्यवसायीले आर्थिक क्षति व्यहोर्नु परेको र उपभोक्ताले समेत आवश्यक काठ पाउन नसकेको बताएको छ ।

संघका अध्यक्ष प्रकाशबहादुर खड्काले काठ तथा दाउराको कारोबार बन्द हुँदा आश्रित परिवार, सःमिल तथा फर्निचर व्यवसायी र अन्य व्यवसायी प्रभावित भएको बताए । लामो समयसम्म काठ बिक्री गर्न नपाउँदा संकलित वन पैदावारको गुणस्तरसमेत बिग्रिने अवस्था रहेको उनको भनाइ छ । 

वन नियमअनुसार लिलाम प्रक्रिया पूरा गरी राजस्वसमेत जम्मा भइसकेका काठ तथा दाउराको ओसारपसारमा समेत प्रतिबन्ध लगाइएको भन्दै संघले आपत्ति जनाएको छ । यसबाट प्रदेश तथा स्थानीय सरकारले प्राप्त गर्ने राजस्वमा समेत असर परेको संघको दाबी छ ।

सुदूरपश्चिमका नौ जिल्लामध्ये आठ जिल्लामा काठ तथा दाउराको संकलन र बिक्री वितरण खुला गरिए पनि कैलालीमा मात्रै प्रतिबन्ध कायम राखिएको संघको गुनासो छ। अन्य जिल्लामा कारोबार खुला हुँदा कैलालीमा मात्रै रोक लगाइनुको औचित्यमाथि संघले प्रश्न उठाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update