अछाम, कात्तिक १६
अछामको कमलबजारमा हावाबाट उत्पादन हुँदै आएको विद्युत् उत्पादन सात वर्षदेखि ठप्प छ । सुदूरपश्चिममा पहिलो पटक हावाबाट विद्युत् उत्पादन गरिएको यहाँ विगत सात वर्षदेखि सो कार्य बन्द रहेको हो । २०७४ सालमा निर्माण सुरु भई सोही वर्षदेखि उत्पादन सुरु भएको विद्युत् सञ्चालनको दुई वर्षपछि पूर्ण रूपमा बन्द भएको थियो ।
नमूनाका रूपमा रहेको वायु तथा सौर्य ऊर्जा प्लान्ट बिग्रेको लामो समय हुँदासमेत सञ्चालनका लागि कुनै पहल नगरिएको स्थानीयको भनाइ छ ।
सरकारले पुनः विद्युत् उत्पादनका लागि ध्यान नदिएको लोकेन्द्रबहादुर नेपालीले गुनासो गरे । उनले विद्युत् उत्पादन हुँदा अवलोकनका लागि पर्यटक आएको स्मरण गर्दै भने ‘अब त यो ठाउँ सुनसान बनेको छ । चहलपहल छैन । व्यापार व्यवसाय पनि खस्केको छ ।’
नेपाल सरकारको एक करोड, कमलबजार नगरपालिकाको ३० लाख गरी कुल एक करोड ३० लाखको लागतमा ३१ किलोवाट क्षमताको वायु ऊर्जा प्लान्ट निर्माण गरिएको थियो ।
यसको पुनः सञ्चालनका लागि जनप्रतिनिधिले पनि ध्यान नदिएको कमलबजारका चन्द्र भाटको भनाइ छ । लामो समयसम्म बन्द रहँदा ऊर्जा सङ्कट निम्तिने, भौतिक संरचना र सामग्री बिग्रिने डर रहेको उल्लेख गरे ।
वायु तथा सौर्य ऊर्जा प्लान्टको मर्मतका लागि यस वर्ष पाँच लाख रुपियाँ बजेट विनियोजन गरिएको कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताए । उनले पुनः सञ्चालनका लागि वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग पनि सहयोग मागिएको दाबी गरेका छन् ।





