धनगढी, कात्तिक २८
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम प्रदेशलाई सम्भावनाको प्रदेश बनाउन पत्रकारिता क्षेत्रको महत्वपूर्ण योगदान रहने बताएका छन् ।
अग्रलेख मल्टिमिडिया प्रा.लि.द्धारा धनगढीमा आयोजित जलवायु पैरवी, विपद् व्यवस्थापन र डिजिटल सञ्चारः एआई तथा डेटामा आधारित पत्रकारिता तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले सो कुरा बताएका हुन् ।
'यो प्रदेशलाई सम्भावनाको प्रदेश बनाउन, कृषि, पर्यटनका क्षेत्रमा गर्नुपर्ने महत्वपूर्ण कामका बारेमा पत्रकारिता क्षेत्रले समाचार सम्प्रेषण गरेर योगदान पुर्याउनु हुनेछ' मुख्यमन्त्री भट्टले भने 'जलवायु परिवर्तनको मुद्दामा यो तालिमले प्रदेश सरकारलाई मार्गनिर्देश गर्ने विश्वास लिएको छु ।'
मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले गम्भीर भएर काम गर्नुपर्ने बताए ।
तीन दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना डोटीका निर्देशक गेहेन्द्र बम, सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी पदमबहादुर विष्ट, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज भट्ट, अग्रलेखका निर्देशक योगेश रावल लगायतले बोलेका थिए ।
मल्टिमिडिया प्रा.लि.का अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सम्पादक हरि जोशीले गरेका थिए । तालिममा सुदूरपश्चिमका ९ वटै जिल्लाका पत्रकारहरुको सहभागिता रहेको छ । तालिममा वातावरण पत्रकार रमेश भुसाल र अरुण कार्कीले सहजीकरण गर्नेछन् ।





