Hamro Patra
टीकापुर खानेपानीसँगको मेरो स्वार्थ 

टीकापुर खानेपानीमा पानी मात्रै धमिलो छैन त्यहाँका केही कार्य समिति र कर्मचारीको मन पनि धमिलो छ । यो धमिलोपन अहिले मात्रै हैन हिजोदेखिकै हो । दुवैतर्फको धमिलोलाई सङ्लो बनाउन जरुरी छ । नत्र यसले उपभोक्ताको स्वास्थ्य र संस्थाको दिगोपनलाई समूल नष्ट गर्ने सम्भावना छ । 

कुरो त्यसअघि नै सुरुवात भएपनि छरपष्ट यसअघिको कार्यसमितिबाट सुरु भएको हो । अध्यक्ष नरेशकुमार खत्री अन्य कुनै कुरामा अख्तियारमा मुछिए । त्यो घटनामा अरु व्यक्ति पनि मुछिएका थिए । कुरा नैतिकताको मात्रै थियो । अध्यक्ष खत्रीलाई कार्य समितिका प्राय सबै मिलेर गलहत्याए । त्यसपछि सुरु भयो गुटबन्दी । अनि सुरु भयो मनपरीतन्त्र । त्यस कार्यसमितिको सदस्य रहेका हालका अध्यक्ष खडक धामीले केही कुरामा विमती जनाएका सुनिन्थ्यो । उनलाई एक्लो पारियो । उनको कुरा सुन्नै छोडे । त्यसपछि उनले कति बैठकमा उपस्थिति समेत जनाएनन् ।

अघिल्लो कार्य समितिले योगाश्रममा गरेको साधारण सभा अस्तव्यस्त थियो । त्यहाँ पूर्वअध्यक्षहरुलाई समेत बन्दसत्रमा बस्न दिएनन । कार्य समिति नै जिम्मेवार ढंगबाट प्रस्तुत भएन । म लगायत केही व्यक्तिहरुले सुझाव दियौं । पछि हामीलाई वाइपास गरेर आफू अनुकुलका निर्णय गरी माइन्यूट क्लोज गरिएछ । पानीको महशुल न्यूनतम ५० रुपैयाँबाट वृद्धि गरेर १५० पुर्याए । दोब्बर शुक्ल वृद्धि गरेर संस्था फाईदामा छ भनियो । मैले त्यतिबेलै भनेको थिए शुल्क बढाएर संस्था फाईदामा गयो भनेर मख्ख पर्नु मुर्खता हो । तर म लगायतको कुरा कसले सुन्ने । उनीहरु सबै मैमत्ता थिए । उनीहरुलाई हाम्रो सुझाव भालुलाई पुराण सुनाउनु जस्तै थियो । 

यसबिच वर्तमान कार्य समिति चयन भयो । म त खानेपानी जस्तो आम उपभोक्ताको स्वास्थ्यसँग जोडिएको संस्थामा निर्वाचन हुनु हुँदैन भन्ने पक्षमा थिए । तर म बबुरोको कुरो कसले सुन्ने । सबैलाई राजनीतिक इगो थियो । नवनिर्वाचित कार्य समितिका अध्यक्ष खडक धामी र सचिव प्रकाश खड्कालाई बेग्लाबेग्लै भेट भएको बेला खानेपानी संस्था प्रति गम्भिर हुन भनेर सुझाव दिए । उनीहरु दुवै जनाले मेरो कुरालाई सहर्ष स्विकारे । मलाई लागेको थियो विगतमा संस्थामा देखिएका सबै विकृती हट्ने छन । खानेपानी उदाहरणीय संस्था बन्नेछ । 

तर दुर्भाग्य विवाद यसरी छताछुल्ल भयो कि सुन्दै लाज लाग्न थालेको छ । सचिव प्रकाश खड्काले सामाजिक सञ्जालमा विभिन्न कुरा उठाईरहेका छन । उनले खासगरी पेश्की रकम र खरिद प्रकृयाका बारेमा प्रश्न उठाउने गरेका छन । विगतमा कुनै एकजना पदाधिकारीले संस्थाको १० लाख रुपैयाँ पेश्की लगेर फिर्ता नगरेको भन्ने छ । कुरो के हो ? आम उपभोक्ताले तिरेको पानीको महशुसबाट उठेको १० लाख रुपैयाँ कुनै पदाधिकारीले झ्वाँम पार्न पाईन्छ ? 

खरिद प्रकृया माथि समेत प्रश्न उठ्ने गरेको छ । विगतमा पाईप खरिदमा छुट नपागेको तर अहिले सोही बिक्रेताले सोही सामानको छुट रकम दिएको कुरा छ । हिजो छुट नदिएकै हो कि ? या त्यो रकम संस्थाको कसैले मिलेमतोमा झवाँम पारेको हो कि ? यदि छुट रकम मागेको भए संस्थालाई फाईदा हुँदो हो । 

सचिव मात्रै हो र, कार्यालय प्रमुख डम्मर विकले समेत यस्तै आर्थिक लेनादेनाका कुरालाई जोडेर सामाजिक सञ्जालमा लेखेका छन । उनले कुनै पदाधिकारीलाई घुस खान दवाव दिएको आरोप लगाएका छन । कार्यालय प्रमुखले यस्तो आरोप लगाए पछि त्यसलाई स्पष्ट पार्ने जिम्मेवारी नेतृत्वको हो । 

संस्थाले एक कार्यक्रम गरेर सय दिने प्रगति सार्वजनिक गर्यो । जहाँ सचिव खड्का र केही सदस्य अनुपस्थित थिए । कार्यालय प्रमुख विक समेत उपस्थित थिएनन् । एकजना कर्मचारी मात्रै देखिन्थे । सचिव खड्का र कार्यालय प्रमुख विकले आफूलाई कार्यक्रम बारे जानकारी नभएको कुरा सामाजिक सञ्जाल मार्फत व्यक्त गरे । उनीहरुलाई कार्यक्रम बारे जानकारी थियो कि थिएन ? भगवान जानून । तर, उनीहरुको उपस्थिति अनिवार्य थियो । किनकी उनीहरुले संस्थाका बारेमा टिकाटिप्पणी गर्दै आएका छन । हामी उपभोक्ताले दुवै पक्षका अघि कुरा राख्ने थियौं । दुवै पक्षले आ–आफ्ना कुरा राखेर हामीलाई प्रष्ट पार्ने थिए । को सही र को गलत भन्ने कुरा हामीलाई जानकारी हुन्थ्यो । एउटाले अर्कोलाई आरोप मात्रै लगाउने हो भने हामी अनभिज्ञ हुने नै भयौं । 

त्यो कार्यक्रममा एक महिलाले कुनै एक पूर्व पदाधिकारीले सार्वजनिक धारा आफ्नो आँगनमा जोडेको बताईन । यदि यो कुरा साँचो हो भने सार्वजनिक धारा किन व्यक्तिको आँगनमा भन्न पाईने कि नपाईने ? यसको छानविन गरेर सत्यतथ्य हामी उपभोक्ताले जान्न पाउनु पर्छ ।

हामी उपभोक्ता संस्थामा सुधार चाहन्छौं । हामीले हिजो काउण्टरबाटै पदाधिकारीहरुले रकम लग्ने गरेको सुनेका थियौं । त्यो रोकियो कि रोकिएन ? दैनिक संकलन भएको पानीको महशुल दैनिक बैंक दाखिला हुनुपर्ने हो तर त्यसो नहुने गरेको सुनेका थियौं । अचेल त्यो रकम दाखिला हुन्छ कि हुँदैन ? संस्थाका प्राविधिकले निशुल्क हुनुपर्ने काममा अतिरिक्त रकम माग्ने गरेको कुरा पनि कार्यक्रम उठेको थियो । त्यसको छानविन गरेर संलग्नलाई कारवाही हुनुपर्छ भन्न पाई कि नपाई ? 

एउटा म आफैले भोगेको घटना सुनाउन चाहन्छु । मैले मासिक औषत २५०/३०० रुपैयाँ सम्म पानीको महशुल तिर्छु । तर अघिल्लो महिना २ हजार ८०० रकम बिल आयो । खानेपानीको कर्मचारी आफै गएर चेकजाँच गरे । उनले पानी चुहावट भैरहेको बताए । पानीको थोपा सेकेन्टको भरमा खसिरहेको थियो । त्यत्ति चुहावटले त यति बिल नआउनु पर्ने हो भन्ने लागेको थियो । तैपनि मैले चुहावट भैरहेको धाराको टुटी फेरे । अब बिल त तिर्नै पर्यो । कार्यालयले मिटर रिडिङमा समेत गल्ती भएकोले ८ सय रुपैयाँ मात्रै तिर्न भनियो । मैले सो रकम तिरे । झण्डै ५ सय रुपैयाँ बढी तिर्नु पर्यो । 

सोच्नुस त यस्तो समस्या कतिले भोगेका होलान । संस्थामा ८ हजार उपभोक्ता छन । अझ कति उपभोक्ताले पूरै रकम पनि तिर्नु परेको होला । यो प्रवृतिलाई के भन्ने ? यो कसले रोक्ने ? किन यस्तो भएको हो ? उपभोक्तालाई जानकारी चाहिन्छ । किनकी टीकापुरमा व्यवशायीक भन्दा घरायसी धारा बढी छन । मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवार पनि उपभोक्ता छन । उनीहरुले यस्तो समस्या भोग्न परे पानीको महशुल कसरी तिर्छन ? यी कुराको सुधार भएको देख्न चाहने हाम्रो अधिकार हो । किनकी यो संस्था हाम्रो पनि हो । 

यिनै कुरा कार्यक्रममा व्यक्त गरेको थिए । मैले व्यक्त गरेको कुरा चर्चाको विषय बनेछ । कतिले त आफ्नै पार्टीको नेतृत्व भएका बेला विरोध गर्यो भनेछन । हो, अध्यक्ष धामी काँग्रेस निकट हुन । म पनि काँग्रेस समर्थक हुँ । तर यसको अर्थ अन्धभक्त हुनुपर्छ भन्ने पक्षमा म छैन । सहीलाई सही र गलतलाई गलत भन्न नसक्नु नै हाम्रो कमजोरी हो । राजनीतिक आस्था फरक कुरा हो । आम मानिसको स्वास्थ्यसँग प्रत्यक्ष असर पार्ने विषयमा बोल्न कञ्जुस्याँई गर्यौं भने एक सचेतक नागरिक हुनुको अर्थ के रह्यो । फेरी पनि भन्छु, अध्यक्ष धामीले आफ्नो क्षमता प्रस्तुत गरेर संस्थामा देखिएका सबै विवादको अन्त्य खोज्नुपर्छ । यसमा हामी सहयोग गर्न तयार छौं । यसका लागि अध्यक्ष धामी स्वयं अग्रसर हुनुपर्छ । 

थोरै संस्था स्थापनाको सकसका बारेमा कुरा गरौं । खानेपानी आयोजना बन्नुपर्छ भन्ने भन्दा बन्नु हुँदैन भन्ने धेरै थिए । टोल टोलमा आयोजनाका विरुद्ध मोर्चाबन्दी थियो । यसरी मोर्चाबन्दी गर्नेहरु अहिले आयोजनाको धाराबाट पानी खाईरहेकै होलान । उनीहरु अहिले कस्तो सोच्दा हुन थाहा छैन । त्यतिबेलाको नेतृत्वले आयोजना सफल बनाउन धेरै मेहनत गरेको थियो । त्यसको साक्षी म लगायत धेरै जना छौं । काम गर्ने क्रममा केही तलमाथि भएको होला तर जसरी आयोजनाको काम समयमै सम्पन्न भएर धारामा पानी आयो त्यो हाम्रा लागि खुशीको क्षण थियो । नल्काको पानी पिईरहेको मैले जब धाराको टुटी खोल्दा पानी आयो त्यो क्षण असाध्यै खुशीको थियो । यस्तो खुशी धेरैले महशुस गरेका थिए होला । यो आयोजना तत्कालिन नेतृत्व र हामी उपभोक्ताको मेहनतले खडा भएको हो । म संस्थापक अध्यक्ष नवराज रावल, सचिव भैरव रावल र टोलटोलबाट नेतृत्व गर्ने टोल संयोजकहरुको भूमिका प्रति प्रभावित छुँ । 

खानेपानी अरु जस्तो संस्था हैन । यो आम उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको छ । यसको स्वस्थताले मानिस स्वस्थ हुन्छ । यो संस्था अस्वस्थ भए मानिस मात्रै हैन समाज नै अस्वस्थ बन्न सक्छ । त्यसैले आम मानिस र समाजको स्वस्थतासँग जोडिएको संस्थाको महत्वप्रति नेतृत्व जिम्मेवार बन्नुपर्छ भन्ने हामी उपभोक्ताको सुझाव हो । यो सुझावलाई सहर्ष स्विकारेर संस्थामा सुधारका संकेतहरु देख्न पाईयोस यही अपेक्षा छ । आगे आपकी मर्जी । 
 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update