टीकापुर, साउन १२
देउडा गीतको उर्बर भूमि मानिने सुदूरपश्चिमेलीले र्याप गीत गाउने कुरा आफैमा अनौठो हो । आधुनिक गीतको समेत खास्सै प्रभाव नभएको सुदूरपश्चिममा र्याप गाएर स्थापित हुनु धेरै परेको कुरा हो ।
र्याप रियालिटी शोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित मानिने नेफेप श्रीपेच ३ मा उत्कृष्ठ प्रस्तुतीसहित कैलालीको जानकी गाउँपालिका वडा नं. ३ सुवर्णपुरका १८ वर्षीय युवा र्यापर सन्देश विश्वकर्मा उर्फ योङ लायन भने टप सात अर्थात् सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् ।
काठमाडौंको माइलस्टोल इन्टरनेशनल कलेज, बालकुमारीमा कक्षा १२ मा अध्ययनरत योङ लायनले सयौं प्रतिस्पर्धीलाई पछि पार्दै दमदार र्याप, उत्कृष्ठ प्रस्तुती, मौलिक शैली तथा गायन क्षमतामार्फत् राष्ट्रिय मञ्चमा छुट्टै पहिचान बनाउन सफल भएका हुन् ।
उनका अधिकांश प्रस्तुतीमा सुदूरपश्चिमको कला, संस्कृति, भेषभुषा तथा विकृति र विसङ्गगती उजागर गर्न लक्षित देखिन्छन् । चर्चित मञ्चमा आकर्षक रुपमा प्रस्तुत भइरहेका योङ लाइन न त संगीतका विद्यार्थी हुन्, न त कुनै सम्पन्न परिवारमा हुर्किएका ।
आफ्ना बुवा सहदेव विश्वकर्माले गाउने आधुनिक गीत सुन्दै हुर्किएका उनले सानैदेखि घरमा र्याप गीतमा अभ्यास गर्दै आइरहेका थिए । काठमाडौंमा अध्ययन गरिरहेका बेला अडिसन दिएर सेमिफाइनलसम्मको यात्रामा पुगेका योङ लाइनको सफलतालाई उनका बुवा सहदेवले उनको प्रस्तुतिमा सुदूरपश्चिमलाई चिनाउने लक्ष्यका साथ अघि बढिरहेको बताए ।
प्रतियोगिता अहिले निर्णायक चरणमा पुगेको छ । आगामी चरणमा पुग्न दर्शकको भोट निर्णायक हुने भएकाले योङ लायन र उनका आफन्तले देश विदेशमा रहेका समर्थक, शुभचिन्तक, शुभेच्छुक तथा आफन्तलाई भोटिङ गरिदिन आग्रह गरेका छन् । योङ लायनका बुवा सहदेवका अनुसार भोटिङ बुधवार (भोलि) राति ११ बजेदेखि शुरु भई शनिवार दिउँसो १ बजेसम्म खुल्ला रहनेछ ।
सो अवधिमा छनौट भए योङ लायन श्रीपेचमा फाइनल पुग्ने पहिलो सुदूरपश्चिमेली हुनेछन् । सुदूरपश्चिमका उदाउँदा र्यापर योङ लायनले यो सफलता व्यक्तिगत उपलब्धीमात्र नभई सुदूरपश्चिमका सम्पूर्ण संगीतप्रेमी युवाहरुको गौरबका रुपमा लिएको बताए ।
‘र्याप गीत हामीले बुझेकै थिएनौं, उसलाई कुनै संगीत सिकाएका पनि छैनौं, तर उसको लगाब सानैबाट थियो, आफ्नै मेहनत र यहाँहरु सबैको मायाले यो स्थानसम्म पुगेको हुनाले मलाई एकदमै गौरब लागिरहेको छ’ उनका बुवा सहदेवले हाम्रो पत्रसँग भने ‘युवाहरुको रोजाईमा परेको छ, सबैले भोटिङ गरेर सहयोग गरेका खण्डमा योङ लायनले सुदूरपश्चिममा श्रीपेच ल्याउनेछ भन्ने लागेको छ ।’
सहदेवका अनुसार योङ लायनलाई मोबाइल बैंकिङ र इसेवाबाट भोटिङ गर्न सकिन्छ ।








