Hamro Patra
द भ्वाइस अफ किड्समा टीकापुरका सम्राटको तहल्का

टीकापुर, साउन १४
बालबालिकालाई गायन क्षेत्रमा स्थापित गर्दै आइरहेको चर्चित रियालिटी शो द भ्वाइस अफ किड्समा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्दै टीकापुरका सम्राट खनाल तहल्का पिटिरहेका छन् । 

टीकापुर नगरपालिका वडा नं. १ का ११ वर्षीय खनाल टीकापुरस्थित रेडियण्ट मन्टेश्वरी इंग्लिस स्कुलमा कक्षा ८ मा अध्ययरत छन् । खनालले सयौं प्रतिस्पर्धीलाई पछि पार्दै लाइभ राउण्डमा प्रवेश गरिसकेका छन् ।

बुवा डम्बर खनाल र आमा निर्मला कोइरालाका पुत्र खनालले ब्लाइण्ड र ब्याटल राउण्ड पार गरिसकेका छन् । प्रतियोगिताको शुरुवातमा टिम मिलनमा रहेका सम्राट ब्याटल राउण्डबाट स्टिल भएर टिम सत्यमा प्रवेश गरेका छन् । 

सम्राटका बुवा डम्बर खनालका अनुसार लाइभ राउण्ड भोटिङका आधारमा चयन हुने गरेको छ । सेमिफाइनल प्रवेशका लागि भोलि अर्थात् असार १५ गते साँझ ८ बजेसम्म अन्तिम भोटिङ लाइन खुल्ला रहेको छ । 

कुनै पनि सांगीतिक कक्षा नलिएका सम्राटले सानैदेखि आधुनिक गीतहरु गाउँदै आएका थिए । विद्यालयले सञ्चालन गर्ने रेडिण्न्ट स्टार २०८१ मा फस्ट रनरअप भएका सम्राटका दाजु अर्पण खनालले भिडियो बनाएर अडिसनमा पठाएका थिए । भिडियो अडिसनबाट लाइभ राउण्डसम्म पुगेका सम्राटले आफूले सुदूरपश्चिमका प्रतिनिधित्व गर्दै सहभागी भएको बताए । 

‘मलाई निकै खुशी लागेको छ, सबैको सहयोगले म यहाँसम्म आइपुगेको छु’ सम्राटले हाम्रो पत्रसँग भने ‘आगामी दिनमा मेरो थप धमाकेदार प्रस्तुति हेर्नका लागि मलाई भोट गरेर सहयोग गरिदिनु होला ।’

उनका बुवा डम्बरले छोराको प्रगतिले आफू निकै खुशी र भावुक भएको बताए । ‘संगीतको कुनै औपचारिक कक्षा विना नै यहाँसम्म आइपुगेको छ, सबैले सहयोग गरिरहेका छन्‌’ डम्बरले भने ‘जजहरु समेत छोराको प्रस्तुतिबाट निकै खुशी छन्, सबैले मतदान सहयोग गरिदिन अपिल गर्दछु ।’

हिमालय टेलिभिजनमा प्रसारण भइरहेको प्रतियोगितामा गायिका मिलन नेवार, गायक सत्यराज आचार्य, गायक अर्जुन सापकोटा र गायक वाङ्देन शेर्पाका चारवटा टिमहरु रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update