टीकापुर, असोज ६
कर्णाली र मोहना नदी आसपासका क्षेत्रमा बाढीको पूर्वसूचना दिन थालिएको छ । स्थानीय टोल विकास संस्थाहरुले माईकिङ गर्दै बाढीको पूर्वसूचना बारे जानकारी दिन थालेका हुन । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले एक सूचना जारी गरी यही असोज ९ देखी ११ गतेसम्म भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्राधिकरणले अनुरोध गरेसँगै तटीय क्षेत्रका बस्तीहरुमा बाढीको पूर्वसूचना दिन थालिएको हो । टीकापुर क्षेत्रमा अत्याधिक वर्षा हुने पूर्वानुमानको खबरले तटीय क्षेत्रका बासिन्दा मात्रै नभई आसपासका बस्तीहरुमा समेत पूर्वसूचना प्रवाह गरिरहेका छन ।
टीकापुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले १७ वटै टोल विकास संस्थालाई परिचालन गरिएको जानकारी दिए । उनले वर्षेनी कर्णाली नदीको कटानले उच्च जोखिममा रहेको श्रीलंका टापुका १७ घरपरिवारलाई अन्यत्र सार्ने तयारी भैरहेको बताए । सो वडाका वनगाउँ, फाँटा, अरुणा, रामडाँडा, कालिमाटी लगायतका गाउँ बाढीको जोखिममा छन ।
यहाँ कर्णाली नदीको बाढीले वर्षेनी प्रभाव पार्ने गरेको छ । ‘हामी धनजनको क्षति हुन नदिने तर्फ सचेत भएर लागेका छौं’ वडाध्यक्ष ठकुल्लाले भने–‘परिस्थिति कस्तो हुन्छ सोही अनुसार परिचालन हुने गरी तयारीमै छौं ।’ टीकापुर नगरपालिका वडा नम्बर ७ का बाढी प्रभावित ७ वटै टोलमा समेत पूर्वसूचना प्रवाह भैरहेको छ ।
टोल विकास संस्थाका पदाधिकारीहरु माईकिङ गर्दैै बाढीको पूर्वसूचना दिईरहेको आदर्श टोल विकास संस्था बैदीका अध्यक्ष गोविन्द कोइरालाले जानकारी दिए । सो वडामा दिविपुर, पर्तिपुर, माझगाउँ, हुलाकी टोल, खैरझाला, डाँडा टोल, कुन्तिपुर, सुन्दरपुर र ढुंगाना टोल बाढी प्रभावित क्षेत्र हुन । यहाँ पथरैया र काँडा नदीले प्रभाव पार्ने गरेको छ । टीकापुर नगरपालिका वडा नम्बर ९ का पायल गाउँ, खक्रौला र रैनीबोझी समेत बाढीको उच्च जोखिम क्षेत्र हुन । त्यहाँका बस्तीहरुमा समेत बाढीको पूर्वसूचना भैरहेको छ ।
वडाध्यक्ष लौटन चौधरीले उच्च जोखिमका साथै आसपासका झुँगा र बौनिया गाउँका बासिन्दालाई समेत सतर्कता अपनाउन लगाईएको बताए । टीकापुर नगरपालिकासँगै जोडिएको जानकी गाउँपालिकाले समेत पूर्वसूचना गरिरहेको विपद शाखा प्रमुख नेत्र न्यौपानेले जानकारी दिए । उनका अनुसार समुदाय स्तरको विपद व्यवस्थापन समिति अन्र्तगतको पूर्वसूचना कार्यदलले बाढी प्रभावित क्षेत्रमा जानकारी गराईरहेको छ ।
जानकी गाउँपालिकाका वडा नम्बर ३, ६ र ९ मा कर्णाली नदी तथा वडा नम्बर ४ र ७ मा पथरैया नदीले वर्षेनी प्रभाव पार्ने गरेको छ । कर्णाली नदीमा आएको बाढीले मोहना नदीलाई थुनेपछि कैलालीको दक्षिण पूर्वी क्षेत्रको अधिकांश भूभाग डुबानमा पर्ने गरेको छ । यहाँका टीकापुर र भजनी नगरपालिकाका सयौं घरपरिवार वर्षेनी बाढी प्रभावित हुने गरेका छन ।





