टीकापुर, मंसिर ५
टीकापुर नगरपालिका वडा नम्बर १ मा मतदान केन्द्र थप्ने बारेमा छलफल सुरु भएको छ । वडा नम्बर १ ले आज आयोजना गरेको सर्वपक्षीय छलफलले एउटा मतदान केन्द्र थप्ने निर्णय गरेको छ ।
छलफलले हाल विद्यमान रहेका तीन वटा मतदान केन्द्रबाट टाढा रहेका मतदाताहरुलाई पायक पर्ने गरी मतदान केन्द्र थप्नुपर्ने निर्णय गरेको हो । हाल वडा नम्बर १ मा तीन वटा मतदान केन्द्र रहेका छन ।
मतदाताको अत्याधिक चापका कारण मतदान केन्द्र थप्नु परेको वडाध्यक्ष मोहन विकले जानकारी दिएका छन । उनले हाल वडा नम्बर १ मा २२ हजार ९९७ मतदाता रहेको बताए । ती मध्ये खड्ग स्मृति माविमा ८ हजार ९७७, बिरेन्द्र विद्या मन्दिर माविमा ७ हजार ९२३ र टीकापुर बहुमुखी क्याम्पसमा ६ हजार ९७ मतदाताले मतदान गर्दै आएका छन ।
यो जनसंख्या र मतदाताका आधारमा नगरपालिका मध्ये नेपालको सबैभन्दा ठूलो वडा हो । नगरपालिकाले वडा नम्बर १ लाई चारवटा वडामा विभाजन गर्ने प्रस्ताव गरेको छ । ती मध्ये वडा नम्बर १० का रुपमा प्रस्तुत गरिएको भुगोललाई पायक पर्ने गरी मतदान केन्द्र थपिने वडाध्यक्ष विकले जानकारी दिए । उनका अनुसार ब्लक नम्बर ९, १०, ११, १२, १३, १५, १६, २२, २३ र व्यवशाय क्षेत्रलाई समेटेर वडा नम्बर १० प्रस्ताव गरिएको छ ।
छलफलका सहभागीहरुले प्रस्तावित वडा नम्बर १० को मध्य भागमा पर्ने विद्यालयमा मतदान केन्द्र बनाउन सुझाव दिएका छन । सो वडाको पायक पर्ने विद्यालयमा सन्त निरंकारी आदर्श विद्या मन्दिर, नवदुर्गा आवि र खड्ग मेमोरियल स्कुल रहेका छन । यता ब्लक नम्बर १३ का बासिन्दाले कर्णाली माविमा मतदान केन्द्र राख्न सुझाव दिएका छन ।
वडाध्यक्ष विकले चारवटै विद्यालयलाई मतदान केन्द्रका रुपमा प्रस्ताव गरी प्रदेश निर्वाचन कार्यालयमा पठाउने जानकारी दिए । उनले निर्वाचन कार्यालयले उपयुक्त विद्यालयलाई मतदान केन्द्र निर्धारण गर्ने बताए । प्रदेश निर्वाचन कार्यालयले निर्वाचन आयोगको वार्षिक स्वीकृत वार्षिक कार्यक्रम तथा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ को अधिनमा रहेर २०८३ मंसिर २५ गतेभित्र प्राप्त हुने गरी सर्वसम्मत निर्णय पठाउन भनेको छ ।
वडा कार्यालयले प्रस्तावित वडा नम्बर १० का मतदातालाई नयाँ मतदान केन्द्रमा सार्नका लागि टोल विकास संस्था परिचालन गर्ने भएको छ । वडाध्यक्ष विकको संयोजकत्वमा राजनीतिक दलका वडा स्तरका प्रमुख तथा प्रतिनिधि सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ । समितिले टोल विकास संस्थाले गरेको कामलाई अनुगमन गर्ने बताईएको छ ।
‘कुनैपनि मतदाताले समस्या भोग्नु नपर्ने गरी काम गर्छौ’ उनले भने–‘टोल विकास संस्थामा आवद्द व्यक्तिहरुलाई सबैले सहयोग गर्न आग्रह गर्छु ।’ एउटै मतदान केन्द्रमा अत्याधिक मतदाता भएका कारण मतदान कार्य निकै कष्टपूर्ण हुने गरेको मतदाताको अनुभव छ ।
कतिपय मतदाताले नामावलीमा आफ्नो नाम भेटाउन नसकेर घर फर्किनु पर्ने अवस्था थियो । अझ कतिपय मतदाता मतदान केन्द्र टाढा भएका कारण मतदान प्रकृयामै सहभागी हुँदैन थिए । छलफलका सहभागीहरुले यी सबै समस्याको समाधान हुने गरी वडा कार्यालयले निष्पक्ष ढंगले काम गर्न सुझाव दिएका छन । उनीहरुले कुनैपनि पूर्वाग्रह नराखेर काम गर्नुपर्ने बताएका छन ।





