धनगढी, मंसिर ५
कैलालीमा नेपाल–भारत दुई देशको सीमा छुट्याउने केही सीमास्तम्भ मर्मतसम्भारमा समस्या देखिएको छ । मोहना नदीले कटान गरी पानीमा डुबिरहेका अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मतसम्भारमा समस्या देखिएको हो ।
कैलालीमा नदीले क्षति गरेका कतिपय सीमास्तम्भ अझै पानीमा छन् । नदीले क्षति गरी पानीमा भएका सीमास्तम्भ पुनर्निर्माण वा मर्मत गर्न चुनौती नै रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वाटर कैलालीका प्रहरी उपरीक्षक खुमबहादुर केसीले बताए ।
उनका अनुसार एक चरणमा सीमास्तम्भ मर्मत, रङ्गरोगनको कार्य भइसकेको छ तर हरेक वर्ष नदीमा पानी बढ्ने, क्षति हुने भइरहँदा पानीमा रहेका सीमास्तम्भ मर्मतमा चुनौती नै छ । अहिले पानी कम भइरहेकाले अब आउने दुवै देशको संयुक्त फिल्ड सर्भे टोलीले केही न केही गर्नेछ ।
जिल्लामा रहेका कतिपय जङ्गे पिल्लर र केही साना पिल्लरलाई नदीले कटान गरेको छ । दुई वर्षअगाडि नै धनगढी उपमहानगरपालिका वडा नं. ९, बङ्गरास्थित कजरियाघाटमा नदीले बगाएको ७५०/२ नम्बरको सानो पिल्लर अझै पुनर्निर्माण भएको छैन । सो पिल्लर रहेको स्थान बिच नदीमा परेको छ ।
यसैगरी धनगढी उपमहानगरपालिका वडा नं. १० मा रहेको अर्को सानो पिल्लर पनि पानीमै परेको छ । नदीको पानीमा रहेको सीमास्तम्भको स्थान पहिचान गर्न सजिलोका लागि दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा सङ्केत चिह्न राखिएको छ ।
खास गरेर अब आउने फिल्ड सर्भे टोली (एफएसटी) लाई ठाउँ पत्ता लगाउन सहज होस् भनेर नेपालको सशस्त्र प्रहरी बल (एपिएफ) र भारतको सीमा सुरक्षा बल (एसएसबी) ले समन्वय गरेर सङ्केत चिह्न राख्ने कार्य गरेको केसीले बताउनुभयो । सीमास्तम्भ निर्माण वा मर्मतका क्रममा जिपिएस/जिआर दुबै हेरेर मात्र कार्य हुने उहाँको भनाइ छ ।
‘सबै सीमास्तम्भको जिपिएस/जिआर सुरक्षित छ’ सशस्त्र प्रहरी उपरीक्षक केसीले भने ‘बनाउने क्रममा त्यो सबै हेरिन्छ ।’
नदीले क्षति गरेका, डुबाएका सबै सीमास्तम्भ पहिचान भएको जनाइएको छ । दुवै देशको संयुक्त जिएसटी टोली आउने भएपछि सशस्त्र प्रहरी र एसएसबीले फिल्डमा सयुक्त रूपमा सरसफाइ पनि गरेको बताइएको छ । भौतिक रूपमा रहेका जे जति सीमास्तम्भ छन् ती सबैको सशस्त्र प्रहरी र एसएसबीले रेखदेख गर्दै आएका छन् ।
कैलालीमा २८६ वटा सीमास्तम्भमध्ये बिजोर नम्बरको सीमास्तम्भको रङ्गरोगन वा मर्मतसम्भार नेपालले र जोर नम्बरको सीमास्तम्भको मर्मतसम्भार भारतले गर्दै आएको छ भने अधिकांश क्षेत्रमा दुई देशको अन्तर्राष्ट्रिय सीमा मोहना नदीआसपासमा परेको छ । कैलालीमा १०१ किलोमिटर अन्तर्राष्ट्रिय सीमा क्षेत्र रहेको छ ।





