टीकापुर, कात्तिक २१
सुदूरपश्चिम रोयल्स ट्रफी टुर आजदेखी सुरु भएको छ । टीकापुर पार्कस्थित महेन्द्र आरोग्य गृहको प्राङ्गणबाट ट्रफी टुरको शुभारम्भ गरिएको छ ।
ट्रफी टुरको एक समारोहकाबीच नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले शुभारम्भ गरेका छन ।
समारोहलाई सम्बोधन गर्दै क्यानका अध्यक्ष चन्दले नेपाली क्रिकेटको उचाईमा सुदूरपश्चिमको महत्वपूर्ण योगदान रहेको बताए । उनले सुदूरपश्चिम नेपाली क्रिकेटको हब बनेको प्रति गौरव महशुस हुने बताए ।
उनले क्रिकेट नेपाललाई विश्व सामु चिनाउने माध्यम बन्दै गएको बताउँदै क्रिकेटको विकासमा राज्यको ध्यान जान आवश्यक रहेको बताए ।
मेयर थारुले टीकापुरबाट ट्रफी टुरको शुभारम्भ गरेको प्रति धन्यवाद व्यक्त गरेका छन । उनले यस कार्यले टीकापुरलाई चिनाउन महत्वपूर्ण भूमिका हुने बताउँदै क्रिकेटका साथै खेल क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।
.jpeg)
सुदूरपश्चिम रोयल्स प्रालिका अध्यक्ष स्वतन्त्र प्रताप शाहले ऐतिहासिक स्थलबाट ट्रफी टुरको शुभारम्भ गर्न पाउनुले गौरवको अनुभूति भैरहेको बताए । उनले टीकापुर पार्कबाटै स्वर्गीय राजा महेन्द्रले केही दिन देशको शासन सत्ता चलाएको स्मरण गर्दै टीकापुर पार्कको ऐतिहासिक महत्वलाई प्रचार गर्ने उद्देश्यले ट्रफी टुर शुभारम्भका लागि छनौट गरिएको जानकारी दिए ।
उनले टीकापुर नगरपालिकाले क्रिकेट मैदान निर्माणका लागि पहल गरे आवश्यक सहयोग गर्न तयार रहेको बताए । ‘म मेयरसापलाई भन्छु आफ्नो कार्यकाल भित्रै निर्माण गर्ने गरी पहल सुरु गर्नुस् । मैले सकेको सहयोग गर्नेछु’ उनले भने–‘टीकापुरमा क्रिकेट मैदान निकै आवश्यक छ ।’
सुदूरपश्चिम रोयल्स प्रालिका अध्यक्ष शाह टीकापुरका बासिन्दा समेत हुन । उनले एनपिएल सिजन–२ को विजेता बनेर सुदूरपश्चिम रोयल्सको विजय यात्रा समेत टीकापुरबाटै सुरु गर्ने सोच रहेको बताए । सुदूरपश्चिम रोयल्स एनपिएल सिजन–१ को उपविजेता हो ।
ट्रफी टुरमा सुदूरपश्चिम रोयल्सका खेलाडीहरु विनोद भण्डारी, इशान पाण्डे र नरेन साउँदको समेत सहभागिता रहेको छ । ट्रफी टुर शुभारम्भ कार्यक्रममा स्थानीयले खेलाडीलाई भव्य स्वागत गरेका छन । स्थानीयले थारु नाँच लगायत प्रस्तुत गरेका थिए ।
.jpg)
दुई दिनसम्म जारी रहने ट्रफी टुर आज कैलालीका विभिन्न क्षेत्रको भ्रमण पश्चात कञ्चनपुर पुग्नेछ । भोलि कञ्चनपुरबाट सुरु भएको ट्रफी टुर कैलालीको धनगढी पुगेर समापन हुने बताईएको छ । एनपिएल सिजन–२ को तयारीका क्रममा समर्थकसँग भेटघाट र उत्साह बाँड्ने उद्देश्यले ट्रफी टुरको आयोजना गरिएको सुदूरपश्चिम रोयल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले जानकारी दिए ।


