टीकापुर, मंसिर २
धान उत्पादनमा किसानलाई प्रोत्साहन दिन सरकारले समर्थन मुल्य तोक्दै आए पनि खाद्य संस्थान तथा व्यापार कम्पनीले धान खरिदको कोटा घटाउँदै आएको छ ।
सरकारी स्वामित्वको कम्पनीले कैलालीको टीकापुर, सत्ती, भजनी, जोशीपुर, गौरीगंगा र मोहनपुरबाट खाद्य खरिद गर्दै आए पनि पछिल्ला तीन वर्षमा धान खरिदको कोटा घटाउँदै लगेको हो ।
कम्पनीका अनुसार यस वर्ष कम्पनीले कैलालीका विभिन्न खरिद केन्द्रबाट ३० हजार क्वीन्टल मात्र धान खरिदको लक्ष्य लिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा ३८ हजार र आर्थिक वर्ष २०८१/०८२ मा ५४ हजार क्वीन्टल धान खरिद गरेको कम्पनीले यस वर्ष ३० हजार क्वीन्टल मात्रै धान खरिद गर्ने लक्ष्य लिएको हो ।
कम्पनीको टीकापुरस्थित खरिद केन्द्रमा कार्यरत वरिष्ठ सहायक पुष्पराज बजगाईंका अनुसार कम्पनीले टीकापुरबाट टीकापुरमा ६ हजार ५ सय क्वीन्टल, सत्ती खरिद केन्द्रबाट ४ हजार ५ सय क्वीन्टल र भजनी खरिद केन्द्रबाट ३ हजार ५ शय क्वीन्टल धान खरिद गर्नेछ । त्यस्तै जोशीपुर खरिद केन्द्रबाट ३ हजार ५ शय र बाँकी धान मोहनपुर र गौरीगंगा खरिद केन्द्रबाट खरिद हुनेछ ।
सरकारले समर्थन मूल्य तोकेर उत्पादन प्रोत्साहन गर्ने बताइरहँदा धान खरिद गर्ने कम्पनीले वर्षेनी धानको कोटा घटाउँदै जानुले किसानहरु व्यापारीलाई सस्तोमा धान बेच्न बाध्य भएका छन् ।
धान भित्र्याएको डेढ महिनासम्म पनि धान बिक्री गर्न नपाएको बताउँदै टीकापुर खरिद केन्द्रमा पालो पर्खिरहेका जानकी गाउँपालिका वडा नं. ७ का किसान सुक्रिम डगौरा थारुले खाद्यले नलिँदा सस्तोमा धान बेच्नु परेको बताए । ‘हामीसँग तीन सय क्वीन्टल धान छ, खाद्यले सबै धान खरिद गर्दैन, दुई दिन भयो लाइनमा बसेका छौं’ थारुले भने ‘खाद्यले नलिएपछि समर्थन मुल्य भन्दा सस्तोमा व्यापारीलाई धान बेच्नै पर्यो ।’
टीकापुरस्थित खरिद केन्द्रमा डन्लप, ट्याक्टरमा धान बिक्री गर्ने किसानहरु तीन दिनदेखि लाइनमा बसेका छन् । ‘पालो कुर्दा समेत हाम्रो सबै उत्पादन खाद्य खरिद गर्दैन, हामीलाई मल, बिउ, विजनको मुल्य असुल गर्न पनि गाहे परिरहेको छ’ टीकापुर नगरपालिका वडा नं. १ का किसान हिरालाल चौधरीले भने ‘व्यावसायिक रुपमा धान खेती गर्ने किसानलाई समर्थन मूल्यले केही फाइदा गरेको छैन ।’
धान खरिदको कोटा सिमित हुँदा जिल्लाका किसानहरुले आफ्नो उत्पादन कम्पनीलाई बिक्री गर्न पाएका छैनन् । सरकारी खरिदको मात्रा कम भएकाले बाँकी धान व्यापारीलाई बेच्नुपर्ने बाध्यता रहेको टीकापुरका व्यावसायिक किसान धनसिंह साउँद बताउँछन् ।
‘धान खरिदको कोटा नै कम छ । खरिद केन्द्रले एउटा किसानसँग ३० क्वीन्टल भन्दा बढी खरिद गर्दैन, जब कि एकै किसानसँग सयौं क्विन्टल धान छ ।’ लागत उठाउनका लागि समेत सस्तोमा व्यापारीहरुलाई धान बेच्नुपर्ने बाध्यता किसानलाई भएको साउँदले बताए ।
सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको तीन हजार ८ सय ६० रुपैयाँ निर्धारण गरेको छ । धान खरिद केन्द्र टीकापुरका प्रमुख बजगाईंले धान बिक्रीका लागि किसानहरु लाइनमा लागेको भए पनि खरिदका लागि टोकन वितरण गरिसकिएको बताउँछन् ।
‘हाम्रो लक्ष्य अनुसारका धान खरिदका लागि टोकन वितरण गरिसकेका छौं’ बजगाईंले भने ‘तौल लिनका लागि किसानहरु लाइनमा लागेका हुन्, सहज रुपमा धान खरिद भइरहेको छ ।’
मल, बीउ, सिँचाइ, मजदुरी र कृषि उपकरणको लागत बढिरहेको अवस्थामा न्यून मूल्यमा धान बेच्नु परिरहेको र त्यहीँ पनि कोटा भएपछि उत्पादन बिक्री गर्न नसकिने समस्या रहेको किसानहरूको भनाइ छ ।
धान व्यापारीहरुले प्रती क्विन्टल दुई हजार ७ सयसम्ममा मोटा धान खरिद गर्दै आएका छन् । खाद्यले धान खरिद बन्द गरे त्यहीँ मूल्य समेत घट्ने चिन्तामा किसानहरु छन् ।





