बाजुरामा ट्याक्टर दुर्घटनाः चालक घाइते
टीकापुर, मंसिर ३
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन् । बुढीनन्दा नगरपालिका वडा नं. ९ अंगाउपानीमा मंगलबार राति ट्याक्टर सडकबाट करिब १५० मिटर तल खसेको हो ।
प्रहरीका अनुसार मार्तडीबाट कोल्टीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४२४३ नम्बरको ट्याक्टर राति करिब ८ बजे अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।
दुर्घटनामा ट्याक्टर चालक कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १० निवासी २६ वर्षीय जमुना थारु घाइते भएका छन् । उनको शरीरमा बाहिरी चोट नदेखिए पनि भित्री चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि थारुलाई पाण्डुसैन स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी थप उपचारका लागि कोल्टी आधारभूत अस्पताल पठाइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३ १२:३१
प्रतिक्रिया दिनुहोस्





