धनगढी, मंसिर ३
शिवशिखर सहकारीमा बचत गरेको रकम फिर्ता पाउने आशासहित कैलाली र कञ्चनपुरका एक हजार बढी बचतकर्ता जिल्ला अदालत कैलाली पुगेका छन् । सहकारी पीडित उनीहरू आफ्नो डुबेको बचत रकम फिर्ता पाउने अपेक्षासहित बकपत्रका लागि अदालत पुगेका हुन् ।
कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार बुधबार मात्रै एक हजार चार सय बचतकर्ताको विवरण रुजु गरेर अदालत पठाइएको थियो । प्रहरी कार्यालयमा आफ्नो नाम रुजु गराएर अदालत पुग्ने बचतकर्ताहरूको बुधबार ठूलो भिड लागेको थियो ।
सहकारीमा करिब २३ लाख रुपैयाँ बचत गरेको बताउने कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ५, गुलरियाका प्रेमराज भट्ट जिल्ला अदालतबाट बकपत्रका लागि अर्को तारेख लिएर फर्किंदै थिए ।
‘सुरुमा जिल्ला प्रहरी कार्यालय गएर आफ्नो नाम रुजु गराएँ । त्यसपछि बकपत्रका लागि अदालत पुगेको थिएँ । यहाँ धेरै भीड भएकाले आज पालो आएन,’ भट्टले भने, ‘अब ८ गतेका लागि बोलाइएको छ । अरूलाई पनि यसरी नै तारेख दिइएको छ ।’ भट्ट अदालतको प्रक्रियाबाट रकम फिर्ता पाउनेमा आशावादी छन् ।
जिल्ला अदालत परिसरमा भेटिएका लम्कीचुहाका अर्का पीडित रणबहादुर भण्डारीले प्रहरी कार्यालयले जारी गरेको सूचनाका आधारमा बकपत्रका लागि आएको बताए । सहकारीले ठगी गरेको रकम फिर्ता पाउने आशा पलाएको उनको भनाइ छ । अदालतमा साक्षीका रूपमा हस्ताक्षर गरेको बताउने भण्डारीले पीडित बचतकर्ताले साँवा र ब्याजसहित रकम फिर्ता पाउनुपर्ने माग गरे ।
‘गाउँमा सानो खुद्रा पसल गरेर जीविकोपार्जन गर्ने हामीजस्ता सर्वसाधारणलाई बचतका नाममा ठगी गरिएको छ,’ भण्डारीले भने, ‘अहिले साँवा रकमसमेत नपाउने अवस्था छ । बैंकको ब्याजदरअनुसार सबै रकम फिर्ता हुन्छ भन्ने आशा जागेको छ ।’
कैलालीका निमित्त प्रहरी प्रमुख तिमिल्सिनाका अनुसार जिल्ला अदालतले उपलब्ध गराएको सूचीका आधारमा बचतकर्तालाई बकपत्रका लागि बोलाइएको हो । बचतकर्ताहरूलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराएर नाम रुजु गरेपछि बकपत्रका लागि सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत पठाइएको उनले बताए । ‘बुधबार मात्रै करिब एक हजार चार सय बचतकर्ताको विवरण रुजु गरेर अदालत पठाइएको छ,’ डीएसपी तिमिल्सिनाले भने ।
शिवशिखर सहकारीमा देशभरका सर्वसाधारणले बचत गरेको झन्डै १० अर्ब रुपैयाँ फसेको छ । यो नेपालको सबैभन्दा ठूलो सहकारी ठगी प्रकरणमध्ये एक हो । अदालतले पीडित बचतकर्तालाई बकपत्रका लागि बोलाएपछि उनीहरूमा डुबेको रकम फिर्ता पाउने आशा पलाएको छ ।
अनलाइन खबर





