Hamro Patra
सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित

धनगढी, मंसिर ४
बजेट विवादमा अल्झेको सुदूरपश्चिम प्रदेशमा दलहरूबिच सहमति जुट्न नसक्दा प्रदेश सभाको बैठक अन्योल बनेको छ । सत्तापक्षभित्रै विवाद बढ्नुका साथै प्रतिपक्ष सरकारको विरोधमा उत्रेपछि प्रदेश सभाको बैठक अन्योल बनेको हो । बजेटसम्बन्धी विवाद निरूपणका लागि गत कात्तिक २१ गते बोलाइएको प्रदेश सभाको बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएका थिए । 

प्रतिपक्षले नाराबाजी गर्दै सरकारको राजीनामा मागेपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक दुई हप्ता पुग्न लाग्दासम्म सञ्चालन हुन सकेको छैन । चालु आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारले दोस्रो पटक ल्याएको बजेट विवादित बनेपछि सरकार र सदन दुवै सुस्त बनेका छन्‌ ।  

बजेटका विषयमा उत्पन्न विवाद नमिल्दा प्रदेश सभाको बैठक पनि अन्योल बनिरहेको सभामुख भीमबहादुर भण्डारीले बताए । उनले बजेट विवाद छानबिनका लागि संसदीय अध्ययन समिति बनी अध्ययनको काम हुन नसकेको उल्लेख गरे । 

सभामुख भण्डारीले भने ‘बजेट अध्ययन गरेर त्यसमा भएका त्रुटि पत्ता लगाउन र सच्याउनका लागि संसदीय अध्ययन समिति बनाउने कुरो भएको हो तर बाहिर संसदीय छानबिन समिति गठन गर्ने हल्ला चल्यो । छानबिन समिति होइन कि अध्ययन समिति बनाउने भनिएको हो । समितिको काम हुन सकेको छैन ।’

समितिले कात्तिक २० गतेसम्म प्रतिवेदन पेस गर्ने र बजेटमाथि देखिएको विवाद निरूपण गर्न सरकारले मङ्सिर १ गतेसम्म पूरक बजेट ल्याउने भनेर प्रदेश सभालाई जानकारी गराइएको थियो । यद्यपि अब के गर्ने भन्ने विषयमा प्रदेश सभाको आगामी बैठकले नै टुङ्गो लगाउने सभामुख भण्डारीको भनाइ छ । उनले भने ‘अब सभाको आगामी बैठकको टुङ्गो अनुसार नै सबै काम अगाडि बढ्छ ।’

सभामुख भण्डारीका अनुसार सभाको आगामी बैठक मङ्सिर ५ गते बस्न सक्ने सम्भावना छ । प्रतिपक्षी दल विरोधमा उत्रेको र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पनि आफ्नै पार्टीको कार्यक्रम भएकोले पनि बिचमा बैठक बस्न नसकेको उहाँको भनाइ छ । चालु आवको प्रथम चौमासिक बित्दासम्म प्रदेश सभाको कार्यप्रगति सन्तोषजनक देखिएको छैन । यस आवमा छ पटकसम्म मात्रै सभाको बैठक बसेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update